आफ्ना हरेक घडीमा अलग–अलग परीक्षा लिने समयलाई उत्तर दिने गरी ।
आफ्नै वसन्तमा निमेष–निमेषमा रंग बदल्ने समयलाई नै फिक्का साबित गर्ने गरी ।
म मानवता सिकाउने समयको खोजीमा छु, निष्ठाको धर्म निभाउने समयको खोजीमा छु,
म दुनियाँलाई इज्जतको ठेकेदारी गर्न दिने समयलाई सख्त सवाल गर्ने कोसिसमा छु ।
रङ्गमञ्चका पटकथा फिक्का साबित गर्ने, उसको डिजाइन भत्काइदिने कोसिसमा छु,
भेटौं त एकफेर उसलाई, ऊ भित्रको सत्य खोतल्ने कोसिममा छु म ।
आफू एक्लै भएर पनि दुनियाँलाई फनफनी घुमाउने राज उधिन्ने कोसिसमा छु म,
मान्छेलाई उसले लिएका कठिन अग्नीपरीक्षामा ऊ कति सफल छ खोज्ने प्रयासमा छु म ।
मान्छेमा अशेष भावना छर्ने, उसकै भावना पत्ता लाउने कोसिसमा छु म,
वास्तवमा समयले छेकेका मेरा पाइला खुलाउने प्रयत्नमा छु म ।
सबैसँग उसको दुश्मनीको कारण खोतल्ने प्रयत्नमा छु म,
मान्छेसँग हार्ने उसकै घडीको तीव्र प्रतीक्षामा छु म ।
Discussion about this post