विराटनगर : विराटनगर–१५ स्थित सामाजिक बचत ऋण तथा सहकारी संस्था लिमिटेडले असल बचतकर्ता र ऋणीहरुलाई सम्मान गरेको छ ।
शनिबार १३ औं वार्षिक साधारणसभाको अवसर पारेर सहकारीले उनीहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा यादवकुमार खड्का, सलाउँदिन मिया, संस्कार गिरी, युएन साह, शीला चौधरी, अनिल महतो र शोभा देवीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आयोजक संस्थाका अध्यक्ष मित्रलाल गिरीलगायतले सम्मान गरेका थिए ।
नियमित बचत गर्ने र ऋणको साँवा र ब्याज तोकिएको समयभित्र तिर्नेहरूमध्येबाट उत्कृष्ट छनौट गरेर सम्मान गरिएको सहकारीका अध्यक्ष गिरीले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी आन्दोलन नै बदनाम भएको बताए ।
उनले बैंक र वित्तीय संस्थाको पहुँच नपुगेका स्थानमा सहकारीहरूले आमजनतालाई वित्तीय सेवा प्रदान गरिरहेको चर्चा गरे । गलत गर्ने सहकारीलाई कारबाही दायरामा ल्याउने उनको भनाइ थियो ।
महानगरमा सहकारी मात्रै हेर्ने छुट्टै शाखा रहेको चर्चा गर्दै हरेक सहकारीका कामकारबाहीलाई महानगरले सूक्ष्म रुपमा हेरिरहेको स्पष्ट पारे ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सचिव फरियाज, विराटनगर १५ का वडाध्यक्ष प्रकाश साह, जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृत गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
२०६८ सालमा स्थापित सो सहकारीमा ४४८ जना शेयर सदस्य रहेका छन् ।
Discussion about this post