धरान : धरानमा जारी प्रदेश प्रिमियर लिगअन्तर्गत आइतबारदेखि जारी ‘सुपर लिग’मा दुवै खेल बराबरीमा सकिएपछि चार टोलीले नै अंक बाडेका छन् ।
कोशी प्रदेश फुटबल संघको आयोजनामा धरान रङ्गशालामा आइतबार भएको सुपर लिगको पहिलो खेलमा पाँचथर युनाइटेड र खोटाङको बुइपा ११ ले अङ्क बाँडेका छन् ।
खेलको ६३ औँ मिनेटमा बुइपा ११ ले पुनरागमन गर्दै अङ्क बाँड्न सफल भएको हो । खेलको अन्तिम मिनेटमा पाँथचरका सुशील लावतीले गोल गर्दै अग्रता बनाएका थिए ।
पाँचथरको अग्रतालाई ६३ औँ मिनेटमा बुइपाका प्रविन्द्र राईले गोल गर्दै बराबरीमा मात्रै ल्याएनन् ।
पाँचथर शीर्ष स्थानमा उक्लिने अवसरलाई प्रविन्द्रले रोक्न सफल भए । खेलको म्यान अफ दि म्याच उनै राई घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पाए ।
यस्तै, दोस्रो खेलमा धनकुटाको देउराली युथ क्लब र उदयपुरको गाइघाट फुटबल क्लब गोलरहित बराबरीमा रोकिएका छन् । निर्धारित समयसम्म दुवै टिम गोलरहित बराबरीमा टुङ्गिएपछि खेलमा अङ्क बाँडे ।
खेलको म्यान अफ दि म्याच देउरालीका विश्व लिम्बू घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पाए । सुपर लिगमा प्रवेश गरेका चारैवटा टिमले एक–एक अङ्क बाँडेका छन् । अब यी टिमबीच मङ्गलबार खेल हुँदै छ ।
पाँचथर समूह ए बाट विजेता बन्दा गाईघाट समूह बीबाट विजेता बनेको थियो ।
यस्तै देउराली युथ क्लब समूह सीबाट विजेता बनेको थियो भने खोटाङ समूह डीबाट विजेता बन्दै सुपर लिगमा प्रवेश गरेको हो ।
प्रतियोगितामा ११ जिल्लाका लिग च्याम्पियन क्लबहरूबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए ।
लिग विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।














Discussion about this post