विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश लगानीको लागि निकै अनुकूल भएको बताएका छन् ।
कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उनले सडक सञ्जाल, कानुनी अवस्था र अन्य कुराहरूको कारण अहिलेको सवस्था अनुकूल रहेको बताएका हुन् ।
उनले कोशी प्रदेशमा सबैतिर सडक सञ्जाल जोडिएकाले कच्चा पदार्थ ढुवानी र उत्पादनलाई बजारसम्म पुर्याउन कुनै समस्या नभएको बताए ।
हुलाकी राजमार्ग अन्तर्गत कनकाई र कमलामा पुल निर्माण भएलगत्तै चितवनसम्म सहज पहुँच हुने, माथिल्लोतर्फ एसियन मापदण्डको राजमार्ग निर्माण भइरहेकोले लगानी सुरु गर्दा बजारसम्म सामान पुगाउँदा राजमार्ग तयार भइसक्ने जानकारी दिए ।
मदन भण्डारी राजमार्ग, कोशी, तमोर, किमाथांका, टिप ताला नाकाजस्ता स्थानहरू खुला भएकाले कोशी करिडोर निर्माण भइरहेको र जहाँसुकै सामान ढुवानी गर्न सकिने हुँदा लगानीकर्तालाई नडराई अगाडि बढ्न आग्रह गरे ।
उनले लगानीको वातावरण बनाउने प्रमुख कुरा भनेकै लगानीकर्ता र श्रमिकबीच कुनै खटपट नहुनु, श्रमिक र रोजगारदाताबीच समस्या देखिए पनि सहजै समाधान हुने र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सिद्धान्तअनुसार सन्धि कार्यान्वयन भएकाले आईएलओले नेपालप्रति सफलताको प्रशंसा गरेको बताए ।
प्रधानमन्त्री ओलीले अब भारतबाट सामान ढुवानी गर्न सहज र सस्तो बनाउन जलमार्गको प्रयोग गर्ने गरी काम अघि बढ्ने बताए । कोशी नदी र कर्णाली नदीमा जहाजमार्फत ढुवानी गर्ने गरी काम सुरु गरिएको उनले बताए ।
Discussion about this post