इटहरी : इटहरी–१२ खनारमा सोमबार राति आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा खोटाङ घर भएका ३० वर्षीय सुमन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
उनले प्रारम्भिक बयानमा “पहिले नै मनमुटाव रहेको र आवेशमा आएर मारेँ” भनेर बयान दिएका छन्।
राति ८ः३० बजेतिर सुमनले श्रीमती अनिसा भट्टराईलाई टाउको, नाक र कानमा काठको बटमले प्रहार गरेका थिए ।
घटनापछि गम्भीर घाइते अनिसाको उपचारको क्रममा विराट विराट टिचिङ अस्पताल मोरङमा ९ः१५ बजेतिर निधन भयो।
उनलाई स्थानीय र प्रहरीको सहयोगमा तत्कालै उद्धार गरी एम्बुलेन्समार्फत विराट टिचिङ अस्पताल पुर्याइएको थियो।
घटनास्थलबाट सुमनलाई प्रहरीले पक्राउ गरी घटनामा प्रयोग भएको काठको बटम बरामद गरेको छ।
त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्न सुमनले साउनबाट श्रीमतीसँग सम्बन्ध चिसिएको बयान दिएका छन् ।
उनले बयान भनेका छन्, ‘साउनको अन्तिमतिरबाट सम्बन्ध चिसिएको थियो। मैले इटहरीमा पढाउन राखेको थिएँ, अन्ततिर काम गरेको थाहा पाएँ। आवेशमा आएर घटना गरेँ।’
तर मंगलबार बिहानसम्म पनि श्रीमतीको निधन भएकोबारे उनलाई थाहा थिएन। उनले आफूले ‘घाइते मात्रै बनाएको’ सोचेकाले मृत्युको खबर सुन्दा झस्किएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
‘मनमुटाव थियो, आवेशमा आएर घटना गरेँ,’ उनले बयानमा भनेका छन्, ‘म पहाडमा पढाउँथे, यहाँ लोकसेवा पढाउन राखेको थिएँ ।’
डीएसपी हमालले टाकुरा न्यूजसँग भने, ‘थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्छ ।’
अनिसा करार शिक्षिकाको रूपमा काम गरेकी थिइन्। पछिल्ला दिनमा भने उनले जागिर छाडेर लोकसेवा तयारीसँगै निजी संस्थामा पनि काम गर्दै आएकी थिइन्। परिवारका अनुसार दुई वर्षअघि सुमन र अनिसाबीच मागी विवाह भएको थियो।
सम्बन्ध राम्रै रहेपनि गत दुई महिनायता चिसिएको थियो।
अनिसासँगै स्नातक अध्ययन गरेका धनकुटाका सन्तोष सुवेदीका अनुसार अनिसा मिजासिली र नरम स्वभावकी थिइन्। सुमन र अनिसाबीचको सम्बन्ध राम्रै भइरहेपनि अचानक यस्तो घटनाले गाउँ नै विक्षिप्त भएको उनले सुनाए ।
सुवेदीले टाकुरा न्यूजसँग भने, ‘सुमनले ‘खोटाङमा हाम्रो घर भएपनि यस वर्ष इटहरीमै टीका लगाएर आउँछौं’ भनेपछि अनिसाका भाइ अर्जुन घर आएका थिए । बहिनीको मृत्युको घटना अकल्पनीय भयो । अझै पनि विश्वास लागिरहेको छैन ।’
अनिसाका माइती महालक्ष्मी नगरपालिकामा बस्दै आएका छन्। उनी इटहरीमा भाइ अर्जुनसँगै बस्दै आएकी थिइन्।
तीन दिनअघि मात्रै सुमनले अर्जुनलाई, “यसपालि इटहरीमै टीका लगाएर दसैं मनाउँछौं” भनेका थिए।
सुमन खोटाङको ऐसेलुखर्क गाउँपालिका–१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयमा प्रधानाध्यापक हुन्।
उनी समय–समयमा खोटाङ र इटहरी आवतजावत गर्ने गर्थे। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेबेले घटनाबारे विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको बताए ।
उनका अनुसार मृतकको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ।
यो पनि – इटहरीमा श्रीमानद्धारा श्रीमतीको हत्या, काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए
Discussion about this post