विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा केही दिन यता रगतको अभाव देखिएको छ ।
हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई रगतको अभाव देखिएको हो। तत्काल रगत चाहिने बिरामीलेसमेत रगत पाउन सकिरहेका छैनन्।
दशैँपछि सबै समूहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इन्चार्ज प्रविण दाहालले जानकारी दिए।
सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य हस्पिटलहरुमा रगतको अभाव सिर्जना भएको हो ।
विराटनगरमा सुविधा सम्पन्न हस्पिटलहरू भएका कारण टाढा–टाढाबाट बिरामीहरु आउने हुँदा रगतको माग पनि उच्च छ ।
माग बढ्दा केन्द्रमा रगतको अभाव सिर्जना हुने गरेको नेपाल रेडक्रस सोसाइटी मोरङले जनाएको छ।
विराट मेडिकलमा सहज रूपमा उपलब्ध हुने पोजेटिभ समूहको रगतको समेत अभाव भएको दाहालले बताए । रगतको अभाव भएपछि रगत दिइनुपर्ने अवस्थाका बिरामीका आफन्तहरूले बढी हैरानी व्यहोर्नुपरेको छ ।
मेडिकलमा दैनिक एक सयदेखि एक सय २० पिन्टसम्म रगतको माग हुने गरेको छ। तर रक्तदान गर्नेको संख्या भने निकै कम रहेको छ।
दिनमा १५ देखि २० जनाले मात्रै रक्तदान गर्ने गरेको दाहालले बताए।
उनका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने बिरामी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने बिरामीहरूलाई असर परेको छ।
Discussion about this post