इटहरी : सुनसरी जिल्लाका दुई फरक स्थानबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो तथा स्थानीय प्रहरीहरूको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गाँजा बरामद गरेको हो।
शनिवार राति ११ः१० बजेतिर धरान उपमहानगरपालिका–१७ र २० को सिमाना नजिक चुम्पुले खोलाको जंगल क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचना प्राप्त भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली उक्त स्थानमा पुगेको थियो।
प्रहरीलाई देख्नासाथ झण्डै १०–११ जना भरियाहरूले बोकेका भारी फालेर जंगलतर्फ फरार भएका थिए। प्रहरी टोलीले फालिएको सामान खोल्दा १० वटा बोरामा प्याक गरिएको अवस्थामा २६८ केजी गाँजा फेला परेको जनाएको छ।
बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय धरान ल्याएर संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी इटहरी–१३ सोमबारेबाट २५ केजी गाँजासहित २ जनालाई पक्राउ गरिएको छ। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर तथा प्रहरी चौकी खनारबाट संयुक्त टोली खटिएको थियो।
टोलीले गणेश पेट्रोल पम्प अगाडि दुई वटा बोरासहित इटहरी १३ बस्ने २४ वर्षीय आकाश पटेल र २७ वर्षीय रवि सरदारलाई नियन्त्रणमा लिएको हो। चेकजाँच गर्दा उनीहरूको साथबाट २५ केजी गाँजा फेला पारेको हो।
दुवै जनालाई लागूऔषध सहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ।
खासगरी पहाडी जिल्ला धनकुटाबाट मध्यरातिको समयमा भरियाहरूले गाँजा ओसारपसार गर्ने र धरानबाट लुकाइछिपाई तराईका विभिन्न जिल्लासहित भारतसम्म पुर्याउने गरिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान तथा निगरानी बढाएको जनाएको छ।














Discussion about this post