इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–८ स्थित सडकछेउमा सोमबार बिहान बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुको अभिभावक पहिचान गर्न प्रहरीले खोजी सुरु गरेको छ।
स्थानीयले बिहानै रोइरहेको आवाज सुनेपछि नवजात शिशु देखेर तत्काल इलाका प्रहरी कार्यालय चक्रघट्टीलाई खबर गरेका थिए। सूचना प्राप्त गरेपछि कार्यालय प्रमुख दिवस कुँवर नेतृत्वको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले शिशुलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल चक्रघट्टीमा लगेको छ। अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था हाल सामान्य छ। चिकित्सकको नियमित निगरानीमा राखिएको छ।
सडकछेउ छाडिएको देखिएको नवजात कसको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी नखुलेको प्रहरीले जनाएको छ।
अभिभावक वा घटनामा संलग्न व्यक्तिको पहिचानका लागि आसपासका बस्ती, अस्पताल र स्थानीय सूचनाका स्रोतमार्फत खोजी जारी रहेको प्रहरीको भनाइ छ।
प्रहरीले कानुनी प्रक्रिया अनुसार आवश्यक अनुसन्धान अगाडि बढाइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post