Thursday, November 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका चन्द्र भण्डारीको सेवा : खुला आकाशमुनि निःशुल्क ‘ट्युसन’ कक्षा, विपन्न परिवारका बालबालिकालाई भरोसा

रासस by रासस
चैत्र २०, २०८२
in टाकुरा विशेष, समाचार
0
इटहरीका चन्द्र भण्डारीको सेवा : खुला आकाशमुनि निःशुल्क ‘ट्युसन’ कक्षा, विपन्न परिवारका बालबालिकालाई भरोसा
84
SHARES
Share on FacebookShare on Twitter

पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’

जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०–३५ जना बालबालिका दिनहुँ बिहान ७ः०० बजे किताब, कापी र कलम च्यापेर ट्युसन पढ्न आइपुग्छन् । चन्द्र सर अर्थात् चन्द्र भण्डारीले ती बालबालिकालाई लेखपढमा सहायता गर्छन् ।

उनी विद्यालयमा पढ्दा नबुझेका पाठ बुझाउँछन् । गृहकार्य गर्न सहजीकरण गर्छन् । यो दृश्य हो– इटहरीको व्यस्त सडक पूर्वपश्चिम राजमार्ग पर्ने इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको गल्ली ।

नामजस्तै यस खुला आकाशमुनि पठनपाठन सञ्चालन हुन थालेको तीन दशक बढी भइसकेको छ । पिपलको रुखमुनि निरन्तर सिकाइ गतिविधि सञ्चालन गर्दै आएको हुनाले ‘पिपलबोटे खुला विद्यालय’ नाम दिइएको छ ।

तर, यो दर्ता गरिएको औपचारिक विद्यालय वा शैक्षिक केन्द्र भने होइन, भण्डारीको व्यक्तिगत पहल, अदम्य इच्छाशक्ति र समपर्णले गर्दा निरन्तरता पाएको शैक्षिक अभियान हो । उनले विपन्न, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको योगदानस्वरुप छरछिमेकमा सबैले ‘चन्द्र सर’ भन्ने गर्छन् ।

सङ्घर्षले सिकाएको सेवा

सुनसरीको छिमेकी जिल्ला धनकुटाको कागते–६ मा बुबा श्रीकान्त भण्डारी र आमा मनमाया भण्डारीको कोखबाट २०२२ सालमा जन्मिएका चन्द्र भण्डारी चार सन्तानमध्ये कान्छा छोरा हुन् । सामान्य परिवारमा जन्मिएर हुर्किएका उनले बाल्यकालमै अभाव र सङ्घर्ष झेले । गुजाराको खोजीमा आमाबाट रु ५० खर्च लिएर उनी २०४४ सालमा इटहरी झरेका थिए ।

इटहरीमा दाजु आफन्त पर्नेहरूसँग ग्यारेजमा मेसिन बनाउने काम थाले । केही समयपछि एक साथीसँग मिलेर हटिया बजारमा थानको कपडाको व्यापार गरे । तर करिब छ महिनामै त्यो व्यापार बन्द भयो ।

कपडा व्यापारमा सफलता नमिलेपछि बाँसको व्यापारमा लागे । विसं २०५१ देखि उनले टेङ्ग्राखोला नजिकै बाँसको व्यापार सुरु गरेका थिए ।

धरानको पानमारा, मोरङको केराबारी र धनकुटाबाट त्यसबेला रु २० देखि २३ मा किनिएका बाँस रु २५ मा बिक्री हुने गर्थ्यो, दुई रुपैयाँ नाफा हुन्थ्यो । बाँस खरिद गरेर सुनसरीका विभिन्न स्थान शान्तिझोडा, तरहरा, इटहरीलगायत ठाउँमा बिक्री गर्दै उनले आफ्नो व्यवसाय विस्तार गरे ।

यही क्रममा स्कुल जाने उमेरका बालबालिका बाँसका चाङ वरिपरि धुलोमाटोमा खेल्दै गरेको उनले देखे । “उनीहरूका बाआमालाई छोराछोरी पढाउनुपर्छ भन्ने चेतना सायदै थियो,” उनी सम्झन्छन्, “मलाई भने गरिबी र अभावले पढाइ अधूरै छाड्नुपरेको बाल्यकालको झल्को आयो ।”

त्यसपछि उनले बालबालिकालाई भेला गरेर पढाउने निधो गरे । सुरुमा उनले त्यहाँ आउने १० जना बालबालिकालाई भेला गरेर बिहान र बेलुका दुईदेखि तीन घण्टा निःशुल्क ट्युसन पढाउन सुरु गरे ।

“मलाई लाग्थ्यो बालबालिकालाई अक्षर चिनाएपछि स्कुल जाने बाटो पक्कै खुल्छ, यही बाँसको व्यापारले जीवनको सबैभन्दा ठूलो उद्देश्य पनि देखायो अनि बालबालिकाको पीडाले खुला विद्यालय पनि जन्मियो,” चन्द्र भन्छन् ।

विपन्न परिवारका बालबालिकालाई भरोसा

चन्द्रको यो प्रयास विस्तारै फैलिँदै गयो । स्थानीय समुदायमा चर्चा बढ्दै जाँदा विद्यार्थी थपिँदै गए । पहिला खोलाकिनारमा सानो कटेजजस्तो टहरो थियो, त्यही टहरोमा बालबालिकालाई राखेर ट्युसन पढाउने चाँजोपाँजो मिलाइएको थियो । बिहान र बेलुका गरी ४० देखि ५० जना बालबालिका पढ्न आउँथे । तर २०६० सालमा उक्त कटेज भत्किएपछि उनले कक्षा खुला आकाशमुनि नै पढाउँदै आएका छन् ।

भण्डारी सम्झन्छन्, “कटेज भत्किए पनि बालबालिकामा पढ्ने चाहना थियो, उनीहरूले घरबाट बोरा ल्याएर भुइँमा बिछ्याएर सिकाइ माग्न थाले । सुविधा केही थिएन, तर पढ्ने चाहना देखिन्थ्यो,” उनी भन्छन् ।

बर्खामासको भेलबाढी होस् वा हिउँदको सुक्खा खडेरी, टेङ्ग्राखोलाको धमिलो पानी, बर्खामा आउने बाढी, कहिले सुक्खा यी सबै चुनौतीबीच पनि चन्द्र भण्डारीको ट्युसन कहिल्यै रोकिएन । न कुनै अवरोधले रोकेको छ, न उनलाई कहिल्यै अल्छी लागेको छ ।

बालबालिकालाई ट्युसन पढाउन उनले छाडेनन् । कोभिड–१९ महामारीका बेला देशभर बन्दाबन्दी चल्दासमेत उनले हार मानेनन्, घरबाटै अनलाइन कक्षा सञ्चालन गरे । कोभिड–१९ पछि विद्यार्थी घट्दै गए । अहिले चन्द्रले दैनिक ३० देखि ३५ जना बालबालिकालाई नियमित ट्युसन पढाउँदै आएको बताए ।

विपन्न परिवारका बालबालिकाका लागि विद्यालयको शिक्षाको अलवा थप सिक्ने अवसरको केन्द्र बनेको छ । यहाँ आउने अधिकांश बालबालिका मकै पोलेर बेच्ने, बदाम बेच्ने, जुत्ता पालिस गर्ने, रिक्सा चलाउने श्रमिक परिवारका छोराछोरी हुन् । मध्यम र उच्च वर्गका केही बालबालिका पनि यहाँ पढ्छन् ।

भण्डारी ट्युसन पढाउनमा मात्र सीमित छैनन् । उनले जन्मदिनको अवसर पारेर पढ्न आउने बालबालिकालाई कापी, कलम र पुस्तक उपहार दिने गर्छन् ।

कतिपय सहयोगी हातहरू पनि शैक्षिक सामग्री र लत्ताकपडाको सहायता लिएर आइपुग्ने गर्छन् । सिकाइका अतिरिक्त शैक्षिक सामग्री तथा लत्ताकपडा उपहार र सहायताले बालबालिकालाई हौसला थप्ने गरेको छ । भण्डारी भन्छन्, “बालबालिकालाई सिकाउने व्यवस्थित ठाउँको अभाव खड्किएको छ, घामपानी छल्ने एउटा व्यवस्थित स्थानमा राखेर पढाउन पाए अझ राम्रो हुन्थ्यो ।”

सेवाको कदर

चन्द्र भण्डारीको स्वःस्फुर्त सेवाभावको कदर गर्दै झन्डै हजारौँ सङ्घसंस्थाले सम्मान गरेका छन् । झापा दमकको ‘पढ्ने घर’ संस्थाले २०७१ सालमा पहिलोपटक सम्मान गरेको थियो । त्यसपछि विभिन्न सङ्घसंस्था, विद्यालय र कलेजबाट दर्जनौँ सम्मान र अवार्ड पाइसकेका छन् । दीर्घकालीन सेवाको कदर गर्दै भण्डारीलाई प्रतिष्ठित ‘युएसए–नेपाल ह्युमानिटेरियन सर्भिस अवार्ड २०१७’ प्रदान गरिएको थियो ।

विपन्न वर्गका बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन शिक्षणमार्फत पुर्याएको योगदानको कदर गर्दै २०७२ सालमा इटहरीस्थित सेक्रेड हार्ट इङ्लिस स्कुलको २०औँ वार्षिकोत्सवका अवसरमा भण्डारीलाई सम्मान गरिएको थियो ।

यस्तै मानवअधिकार तथा शान्ति समाजले नगदसहित सम्मान गरेको छ । जनता बहुमुखी क्याम्पस इटहरीले पनि उनको कार्यलाई उदाहरणीय ठान्दै सम्मानपत्र प्रदान गरिसकेको छ । कोशी प्रदेशकै सबैभन्दा ठूलो मानिने नयन मिडिया फाउन्डेसनद्वारा सञ्चालित प्रदेश खबर डटकमको वार्षिकोत्सवका अवसरमा प्रदान गरिँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’बाट २०८१ सालमा उनलाई सम्मान गरिएको थियो । त्यसैगरी, कस्तुरी एकेडेमी इटहरीले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा उनलाई सम्मानपत्र प्रदान गरेको थियो ।

भण्डारीका लागि यी सम्मान केवल कागजमा लेखिएका शब्द मात्र होइनन्, ती सबै उनीप्रतिको समाजको भरोसा र माया हुन्, जसले उनलाई अझै अघि बढ्न प्रेरित गरिरहेको छ । भण्डारी भन्छन्, “कर्म गर्नु मेरो कर्तव्य हो, फलको आश गरेको छैन । मैले जीवनमा गर्नुपर्ने यसबाहेक अर्को कुनै उन्नत काम देखेको छैन । मलाई अहिलेसम्म हजारौँ सङ्घसंस्थाले सम्मान प्रदान गरेका छन् ।”

“ती सम्मानहरूले झन् जिम्मेवारीबोध गराएको छ, जहिलेसम्म सक्छु स्वास्थ्यले साथ दिएसम्म बालबालिकालाई पढाउने, सिकाउने कर्म गरिरहन्छु ।” उनका लागि यो निःशुल्क शिक्षा दिनु पेसा नभएर जीवनको उद्देश्य र आत्मसन्तुष्टिको स्रोत बनेको छ । यही निःस्वार्थ भावनाले उनलाई तीन दशकभन्दा बढी समयदेखि यही एउटै ठाउँमा उभ्याइरहेको छ ।

भण्डारी भन्छन्, “दुःखसुख तीन दशकभन्दा बढी समय यसरी नै बिताएँ । म खुसी छु, पढ्न आउने बालबालिका पनि खुसी छन् ।”

यही खुसीले उनलाई हरेक दिन फेरि पिपलको छहारीमुनि उभिन प्रेरित गरिरहेको छ । शैक्षिक र सामाजिक सचेतनाको संवाहकका रूपमा भण्डारी परिचित छन् । उनले पढाएका विद्यार्थी हाल कोही उच्चशिक्षा र रोजगारीका सिलसिलामा अमेरिका पुगेका छन् भने कोही नेपालमै विभिन्न पेसा, व्यवसायमा संलग्न छन् ।

श्रीमती र छोराहरूको भर

एसएलसीसम्मको मात्र पढाइ पूरा गरेका भण्डारीले आफूले चाहेजति पढ्न नपाए पनि श्रीमती सावित्री र छोराहरूलाई पढ्ने वातावरण बनाएर आफ्नो रहर पूरा गरिरहेका छन् । चन्द्र भण्डारीको खुला विद्यालय र श्रीमती सावित्रीसँगको वैवाहिक जीवनको उमेर बराबरी छ । आफूले उच्च शिक्षा पढ्न नपाएर पनि चन्द्रले श्रीमतीलाई पढ्न प्रेरणा दिए, हौसला दिए ।

विवाह गर्दा एसएलसी मात्र उत्तीर्ण गरेकी सावित्रीले विवाहपछि नै पढाइलाई निरन्तरता दिँदै स्नातकोत्तर पूरा गरिन् । उच्च शिक्षा हासिलसँगै उनी अहिले इटहरीकै एक निजी विद्यालयमा पढाउँछिन् । त्यही आम्दानीबाट परिवारले घरको गुजारा चलाउँदै आएको छ ।

चन्द्र–सावित्रीका छोरा उत्तम र उत्सव अहिले स्नातकोत्तरमा अध्ययनरत छन् ।

Tags: #राससचन्द्र भण्डारीटाकुरा विशेषशिक्षा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
FEATURE BREAKING

झापा : हात्तीको बथान नेपाल छिर्न नदिन सीमामा सुरक्षा घेरा

by रासस
कार्तिक २६, २०८३
0

झापा : मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ
FEATURE BREAKING

सुनसरीमा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक २६, २०८३
0

इनरुवा : सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते...

धरानमा लागूऔषधसहित तीन जना पक्राउ, फरार कैदी चतराबाट समातिए

धरानमा लागूऔषधसहित तीन जना पक्राउ, फरार कैदी चतराबाट समातिए

कार्तिक २५, २०८३
पूर्वी नाकाबाट चार करोडको १४ प्रकारका जडीबुटी निर्यात

झापामा ३९ लाख ७८ हजारको भारतीय फूलमाला बरामद

कार्तिक २५, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा सरकारी कामकाजको भाषा ऐन आजदेखि कार्यान्वयनमा

कार्तिक २५, २०८३
आज भाइटीका, ११ः२ बजे उत्तम साइत

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

कार्तिक २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्तीको बथान नेपाल छिर्न नदिन सीमामा सुरक्षा घेरा

कार्तिक २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

कार्तिक २६, २०८३
धरानमा लागूऔषधसहित तीन जना पक्राउ, फरार कैदी चतराबाट समातिए

धरानमा लागूऔषधसहित तीन जना पक्राउ, फरार कैदी चतराबाट समातिए

कार्तिक २५, २०८३
पूर्वी नाकाबाट चार करोडको १४ प्रकारका जडीबुटी निर्यात

झापामा ३९ लाख ७८ हजारको भारतीय फूलमाला बरामद

कार्तिक २५, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1085 shares
    Share 434 Tweet 271
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    384 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    336 shares
    Share 134 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.