इटहरी : इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा लाइसेन्स परीक्षामा ‘सेटिङ’ मार्फत अनुत्तीर्णलाई उत्तीर्ण गराएको आरोपमा छानबिनमा परेका तत्कालीन कार्यालय प्रमुख शतीश सत्यालले उन्मुक्ति पाएका छन्।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा गठित पाँच सदस्यीय छानबिन समितिले आरोप पुष्टि हुने आधार नभेटिएको निष्कर्ष निकालेपछि उनले उन्मुक्ति पाएका हुन्।
समितिकी संयोजक उर्मिलादेवी निरौलाका अनुसार प्रतिवेदन मन्त्रालयलाई बुझाइसकिएको छ।
उजुरीपछि सत्याललाई मन्त्रालय तानेर छानबिन गरिएको थियो। उनीमाथि स्वास्थ्य परीक्षणमा समेत मिलेमतो गरी लाइसेन्स दिलाउने आरोप लागेको थियो।
सत्यालले आफू निर्दोष रहेको दाबी गर्दै आधुनिक प्रविधि लागू गर्ने प्रयासकै कारण बदनाम गराइएको बताएका छन्।
उजुरीअनुसार लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई आर्थिक लेनदेन र ‘सेटिङ’ का आधारमा उत्तीर्ण गराउने गरिएको आरोप थियो।
लाइसेन्सका लागि अनिवार्य मानिने स्वास्थ्य परीक्षणमै हेरफेर गरी आँखाको दृष्टि लगायत मापदण्डमा फेल भएका परीक्षार्थीहरूलाई ‘रि–चेक’ को नाममा पास गराइएको उल्लेख गरिएको थियो।
लामो समयदेखि एउटै क्षेत्रमा कार्यरत कर्मचारीहरूको ‘नेटवर्क’ मार्फत यस्तो सेटिङ सञ्चालन भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको थियो।
सत्याल अनुसन्धानमा तानिएपछि उनको ठाउँमा सुभाष कार्कीलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ।
यो पनि – लाइसेन्समा ‘सेटिङ’ प्रकरण : यातायात कार्यालय इटहरीका तत्कालीन प्रमुखमाथि छानबिन सुरु
यो पनि – यातायात कार्यालय इटहरीमा अनियमितता, प्रमुख मन्त्रालय तानिए
यो पनि – सुनसरीमा बिचौलियाको बिगबिगी, यातायात र मालपोत कार्यालयबाट दर्जन बढी नियन्त्रणमा















Discussion about this post