इटहरी : सुनसरीका विभिन्न सरकारी कार्यालय आसपासबाट प्रहरीले एक दर्जनभन्दा बढी बिचौलियालाई नियन्त्रणमा लिएको छ।
सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गरेको तथा सेवाग्राहीसँग रकम माग्ने गरेको सूचनाका आधारमा प्रहरीले संयुक्त रूपमा कारबाही अगाडि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यातायात व्यवस्था कार्यालय इटहरी, मालपोत, नापी तथा जिल्ला प्रशासन कार्यालय सुनसरी क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले यातायात कार्यालय परिसरबाट ५ जनालाई पक्राउ गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार सेवाग्राहीसँग अवैध रूपमा रकम माग्ने र सेवा प्रक्रियामा अवरोध गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूलाई हाल इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान भइरहेको छ।
त्यसैगरी, मालपोत, नापी तथा जिल्ला प्रशासन कार्यालय क्षेत्रबाट समेत आधा दर्जनभन्दा बढी बिचौलिया नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए। उनले पक्राउ परेकाहरूको यकिन संख्या र परिचय खुलाउने प्रक्रिया जारी रहेको बताए।
पछिल्लो समय यी कार्यालयहरूमा बिचौलियाको सक्रियता बढ्दै गएको र सर्वसाधारणलाई दुःख दिइरहेको गुनासो बढेपछि प्रहरीले निगरानी कडा बनाएको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ भने पक्राउ परेकाहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ।













Discussion about this post