इटहरी : इटहरीस्थित यातायात व्यवस्था कार्यालय इटहरीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा गम्भीर अनियमितता भएको उजुरीपछि छानबिन सुरु भएको छ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशमा परेको उजुरीका आधारमा कार्यालय प्रमुख शतीश सत्याललाई मन्त्रालय तानेर घटनाको अनुसन्धान अगाडि बढाइएको छ।
उजुरीअनुसार लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई आर्थिक लेनदेन र ‘सेटिङ’ का आधारमा उत्तीर्ण गराउने गरिएको आरोप छ।
लाइसेन्सका लागि अनिवार्य मानिने स्वास्थ्य परीक्षणमै हेरफेर गरी आँखाको दृष्टि लगायत मापदण्डमा फेल भएका परीक्षार्थीहरूलाई ‘रि–चेक’ को नाममा पास गराइएको उल्लेख गरिएको छ।
मन्त्रालयका सचिव आस्मान तामाङका अनुसार यस्तो गम्भीर उजुरीपछि निगरानी बढाइएको थियो। अनुगमनका क्रममा कैफियत भेटिएपछि नवौँ तहका अधिकृत रहेका सत्याललाई जिम्मेवारीविहीन बनाउँदै मन्त्रालय तानिएको हो।
प्रकरणको छानबिनका लागि उर्मिलादेवी निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
समितिमा कानुनी सल्लाहकार, आईटी विज्ञ तथा प्रशासनिक कर्मचारीहरू समावेश छन्। १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
सचिव तामाङका अनुसार शंकास्पद फाइलहरू सिल गरिसकिएको छ। छानबिन नसकिँदासम्म सम्बन्धित अधिकारीलाई कुनै जिम्मेवारी नदिइने बताइएको छ।
मन्त्रालय स्रोतका अनुसार यस प्रकरणमा एक जना मात्र होइन, अन्य कर्मचारी र बिचौलियाको समेत संलग्नता हुनसक्ने आशंका गरिएको छ। लामो समयदेखि एउटै क्षेत्रमा कार्यरत कर्मचारीहरूको ‘नेटवर्क’ मार्फत यस्तो सेटिङ सञ्चालन भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
हाल सुभाष कार्की लाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ।













Discussion about this post