धरान : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तत्कालीन नेकपाभित्रका शीर्षस्थ नेताहरूबीच कुर्सी र पदको भागबन्डा नमिल्दा किचलो भएको बताएका छन् ।
आदिवासी जनजाति आयोगद्वारा धरानमा आज (बुधबार) आयोजित प्रदेश १ स्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राईले नेकपामा कुर्सी र पदमा भागबन्डा नमिल्दा आफैँभित्र लड्नुपर्ने स्थिति सृजना भएको बताएका हुन् ।
उनले भने, ‘भागबन्डामा किचलो देखा परेको अवस्था छ, देश समृद्धि र विकाससँगै नेपाली जनताले चाहेको नयाँ नेपाल बन्न असम्भव छ । यो सबै पद र भागबन्डा नमिलेर उत्पन्न भएको बखेडाकै कारणले यस्तो भएको हो ’
स्थायी शान्ति, राजनीतिक स्थायित्व, सुशासन र विकास, समृद्धिको पक्षमा निरन्तर उभिएर जनताको बलिदानबाट प्राप्त संविधान र संघीयतालाई सही ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा आयोगका सदस्य शरण राईले आयोगको गठन भएपछि पहिलो पटक प्रदेश १ मा प्रदेशस्तरीय अन्तरक्रिया गरेको बताए ।
आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजाति आयोगको काम, कर्तव्य र भावी योजनाको बारेमा जानकारी गराएका थिए ।

तस्वीरहरु : लक्ष्मण थापा । धरान ।














Discussion about this post