इटहरी : सुनसरीको तरहरास्थित श्री जनसहयोग माध्यमिक विद्यालय २०५० समूहले आयोजना गर्न लागेको ‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ का लागि उत्कृष्ट १० कविता छनोट गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिताका लागि देशभरबाट प्राप्त ५४७ थान कवितामध्ये तीन चरणको मूल्यांकन प्रक्रिया पार गर्दै उत्कृष्ट १० कविता छनोट गरिएको हो। छनोटमा परेका कविहरूलाई आयोजकले बधाई ज्ञापन गरेको छ।
छनोटमा परेका कविहरूमा धनकुटाका अनिल सुवेदी (खेल), इलामका ऋजन मायालु (म बारुद भएको छु), अर्घाखाँचीकी कल्पना मरासिनी (खुशीको मनोविज्ञान), मोरङका टीकाराम कार्की (मुस्कानको आवरणभित्र), झापाका प्रचुर अभाव (मौनधारण), सोलुखुम्बुकी प्रज्ञा निरौला (किन बास्छ भाले यहाँ… कुखुरी काँ ?), भक्तपुरका विश्वराम खत्री (जीवनको यन्त्रशालाका कारिगरहरू), विशाल कुमार शाह (मौनको एल्गोरिदम), सुनसरीकी सवि मेवाहाङ (म र मेरो देश) तथा मकवानपुरका सुवास सजल (चिडियाखानाः द रिभर्स वर्ल्ड) रहेका छन्।
कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेका अनुसार यही वैशाख १९ गते शनिवार हुने कार्यक्रममा छनोट भएका कविहरूले आफ्ना कविता वाचन गर्नेछन्। सोही वाचनको आधारमा अन्तिम विजेताहरू घोषणा गरिने जनाइएको छ।
प्रतियोगिताको प्रथम हुनेलाई ५१ हजार एक सय ११ रुपैयाँ, द्धितीय हुनेलाई ४१ हजार एक सय ११ रुपैयाँ र तृतीय हुनेलाई ३१ हजार एक सय ११ रुपैयाँ प्रदान गरिनेछ । अन्य उत्कृष्ट सात जनालाई पाँच हजारसहित पुरस्कृत गरिनेछ।
प्रतियोगिताले साहित्यिक प्रतिभाको पहिचान र प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। समूहका अध्यक्ष सन्तोष श्रेष्ठले प्रतियोगितामा देशभरका स्रष्टाको उत्साहजनक सहभागिता रहेको बताए।
उक्त समूहले गत वर्षदेखि प्रतियोगिता आयोजना सुरू गरेको हो।
















Discussion about this post