इटहरी : इहरीका पत्रकार तथा गजलकार सुविद गुरागाईले लेखेको नलाएको मायाले ‘झन् रुवायो बरी’ बोलको गजल अहिले युटुबमा लोकप्रिय भइरहेको छ ।
नलाएको मायाले रुवाएको र नघोचेको काँडाले दुखाएको भन्दै माया प्रेमसम्बन्धी बालबेलाको प्रतीकात्मक कुरा गरिएको यो गजलमा भोलि के हुने होला भन्ने सन्दर्भ पनि कलात्मक शैलीमा व्यक्त गरिएको छ ।
माता परिवारको सहयोगमा किरण क्रिएसनद्वारा प्रस्तुत नलाएको माया गजलको म्युजिक भिडियो अहिलेसम्म ३५ लाख ४५ हजारभन्दा बढीले हेरिसकेका छन् । २० सेप्टेम्बर २०१९ मा अपलोड गरिएको ‘नलाएको माया’ कथानक म्युजिक भिडियो आज पनि दैनिक एक हजार पाँच सयभन्दा बढी नयाँ डिभाइसमा रन गरिरहेको किरण क्रिएसनका अध्यक्ष विपिन किरणले जानकारी दिए ।
यो सफलताले निर्माण टिम हौसिएको उल्लेख गर्दै अध्यक्ष विपिन किरणले भने, ‘सत्यराज आचार्यको स्वरमा रहेको नलाएको माया ढिलो–चाँडो करोड क्लबमा पुग्ने अपेक्षा छ ।’
थुप्रै कालजयी सिर्जनाका साथ करोड क्लबमा रहेका चर्चित निर्देशक निकेश खड्काले निर्देशन गरेको सो म्युजिक भिडियोमा लोकप्रिय गायक सत्यराज आचार्य, कला–अभिनेत्री लक्ष्मी बर्देवा र कलाकार जोर्डन राजभण्डारीको अभिनय रहेको छ ।
दीपक शर्माको सङ्गीत तथा लय सिर्जना गहेको सो गजलको मेल भर्सन सत्यराज आचार्य र फिमेल भर्सन अस्मिता राजभण्डारीले गाएका छन् ।
नलाएको मायाको फिमेल भर्सनले पनि युटुबमा सात लाख ८५ हजारभन्दा बढी रेकर्डेड दर्शक भेट्टाइसकेको छ । ती दुवै भिडियोका अतिरिक्त गलजकार गुरागाईका एक दर्जनभन्दा बढी साङ्गीतिक गजल सिर्जनाहरू युटुबमा उपलब्ध छन् ।
युटुबमा भाइरल भइरहेको नलाएको मायाको भिडियोको कथामा आफूले मन पराएको मान्छे परिस्थितिवश अर्कैको हुँदाको स्थितिमा उत्पन्न हुने पीडा र सकस कलात्मक तरिकाले प्रस्तुत गरिएको छ ।
‘यो भिडियो जसले एकपटक हेर्छ, उसले कुनै न कुनै रुपमा आफूले मिस गरिरहेको स्कुल वा कलेज जमानाको आफ्नो हुन नसकेको प्रेमी सम्झिन्छ,’ गजलगो गुरागाई भन्छन्, ‘हरेकको जीवनमा एउटा न एउटा नलाएको माया हुन्छ । त्यति हो कतिले भन्छन्, कतिले भन्दैनन् ।’











Discussion about this post