सुनसरी : सुनसरीको बराहक्षेत्रमा श्रीमान श्रीमतीको सामान्य घरायसी विवादबाट उत्पन्न झगडाका कारण छिमेकीको शरीरमा एसिड प्रहार भएको छ ।
श्रीमती सरस्वती राजधामी बस्नेत सँग बेलुका घरायसी कुरामा विवाद उत्पन्न भएपछि बराहक्षेत्र–३ हर्दियाका ३१ वर्षीया रोमन राजधामीले मार्छु भन्दै धम्की दिएपछि सरस्वती छिमेकीको शरणमा पुगेकी थिइन् ।
शरण लिएकै घरमा गएर सरस्वतीमाथि आक्रमण गर्ने क्रममा रोमनले छिमेकी ४३ वर्षीया श्यामुमारी राजधामीमाथि नै एसिड आक्रमण गरेको इलाका प्रहरी कार्यालय चक्रघट्टीले जनाएको छ ।
प्रहरीका अनुसार छिमेकमा लुकेर ढोका थुनेर बसेकी श्रीमतीलाई खोज्दै जाँदा रोमनले ढोका ढकढक गरेपछि छिमेकी श्यामकुमारीले ढोका खोलिनन् ।
ढोका नखोलेपछि रोमन ढोका फोरेर घरभित्र पसेर श्रीमतीलाई शरीरमा एसिड हाल्न खोज्दा छिमेकी श्यामकुमारीले बचाउन खोजेपछि श्यामकुमारीको हात, शरीर र टाउकामा एसिड खन्याइदिएका छन् । झगडा छुट्याउन खोज्दा श्यामकुमारीका छोरा सुनिल राजधामीको हात र छातीमासमेत एसिड परेको छ ।
इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख पाण्डव राजवंशीले एसिड प्रहार गर्नेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।
पीडित श्यामकुमारीको सहयोगमा राति ११ बजेदेखि प्रहरीको टोली र गाउँलेको सहयोगमा राति १ बजे सम्म खोजी गर्दा पनि फरार भएकालाई भेटाउन नसकेको प्रहरीको भनाइ छ ।
फरार राजधामीले आफ्नै घरमा पितलबाट बनाइने त्रिशुल, बाला लगायतका सामग्री निर्माण गर्दै आएका थिए । निर्माण सामग्रीका लागि एसिड आवश्यक हुँदा उनकै घरमा एसिड उपलब्ध थियो ।
केही वर्षदेखि मादक पदार्थ सेवन गरी रातको समयमा मानसिक तनाव दिने र कुटपिट गर्ने गरेको आरोपी रोमनकी श्रीमती सरस्वती राजधामी बस्नेतले बताइन् । ‘प्रहरीमा उजुर गर्छु भन्दा झन् कुट्ने एसिड छर्की दिन्छु भनेर तनाव दिइरहेको सरस्वतीले बताइन् ।
फरार रहेका राजधामीको घरमा गस्ती खटाइएको र खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिएका छन् ।














Discussion about this post