विराटनगर : बजार क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यसहित विराटनगर महानगरपालिकाले शुक्रबार बिहानदेखि फुटपाथ अतिक्रमण हटाउने अभियान कडाइका साथ सुरु गरेको छ।
उपप्रमुख शिल्पा निरला कार्कीको नेतृत्वमा नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरी मुख्य व्यापारिक क्षेत्रमा रहेका ठेला, अस्थायी पसल र सडक किनारमा राखिएका संरचना हटाउन थालिएको हो।
महानगरका अनुसार दुई दिनअघि माइकिङमार्फत पूर्वसूचना दिइएको र स्वेच्छिक रूपमा फुटपाथ खाली गर्न आग्रह गरिएको थियो।
तर, अटेर गर्नेको सामान जफत गर्ने चेतावनीसहित अभियान अघि बढाइएको नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए।
अभियानको क्रममा दर्जनौं साना व्यापारी प्रत्यक्ष प्रभावित भएका छन्। दैनिक आम्दानीमा निर्भर ठेला व्यवसायीहरूले वैकल्पिक स्थान नदिई हटाइँदा रोजीरोटी संकटमा परेको गुनासो गरेका छन्।
महानगरले बजार क्षेत्रको सुन्दरीकरण, पैदलयात्रीको सहज आवागमन र ट्राफिक व्यवस्थापनका लागि यस्तो कदम आवश्यक भएको जनाएको छ। केही दिनअघि सरोकारवाला निकायसँग छलफलपछि निर्णय गरिएको दाबी महानगरको छ।















Discussion about this post