इटहरी :आफ्नै नातिनीको हत्या गरेर खेतमा गाड्ने सुनसरीका वसन्त खत्वेसहित दुई सय ३८ जना फरार अभियुक्तलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार विभिन्न अपराधमा संलग्न रहेका, अदालतबाट सजाय तोकिएपनि फरार रहेका दुई सय ३८ जना अभियुक्तलाई पक्राउ गरिएको हो ।
एसपी थापाका अनुसार मिति २०६६ वैशाख १६ गते आफ्नै नातिनी ५ वर्षीया सोशीला कुमारी खत्वेलाई घाँटी बटारेर हत्या गरी प्लाष्टिकको बोरामा हालेर खेतमा गाडेका अभियुक्त वसन्त खत्वेसहित दुई सय ३८ फरार अभियुक्तलाई पक्राउ गरिएको हो । खत्वेलाई सुनसरी जिल्ला अदालतले जन्मकैद सजाय तोकेपनि उनी फरार रहेका थिए ।
सुनसरी प्रहरीले साउन १ गतेयता एक महिनाको अवधिमा यो संख्यामा फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ ।

‘पाँच दिनदेखि बीस वर्षसम्म सजाय तोकिएका फरार अभियुक्तहरुलाई पक्राउ गरेका हौँ,’ एसपी थापाले भने, ‘जस अन्र्तगत कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, कीर्ते, जालसाजी, लागूऔषध, ज्यानमार्ने उद्योग, भ्रष्टाचार जस्ता घटनामा संलग्न व्यक्तिहरु छन् ।’
सजाय तोकी फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने ९ लाख ३५ हजार ३ सय १९ रुपैँया जरिवाना समेत असुल भएको प्रहरीले जनाएको छ ।
अपराध गरेर भागेपनि उन्मुक्ति पाउन सकिदैँन भन्ने सन्देश दिनका लागि सुनसरी प्रहरीले फरार अभियुक्तको खोजी कार्य अभियान नै चलाएको उनले बताए ।














Discussion about this post