इटहरी : इटहरीमा रहेको एक विद्यालयमा अध्ययनरत छात्राले होमवर्क नजानेको भन्दै निर्घात कुटपिट गरिएको छ ।
इटहरी उपमहानगरपालिका २ मा रहेको चन्द्र मेमोरियल इङलिस स्कुलमा पाँच कक्षामा अध्यनरत १० वर्षीया सुरक्षा तामाङमाथि होमवर्क नजानेकै निहुमा निर्घात कुटपिट गरिएको हो ।
यसरी कुटपिट गर्नेमा कम्प्युटर पढाउने शिक्षक सुजन दाहाल रहेका छन् । पीडित बालिकाका अनुसार शिक्षक दाहालले होमवर्क नजानेको भन्दै देब्रे हातको पाखुरामा बक्सिङले निर्घात कुटपिट गरेका छन् ।
“होमवर्क नजान्दा सरले बक्सिङले हिर्काउनुभयो” पीडित बालिकाले भनिन्, “दुख्यो भन्दापनि पाँच बक्सिङ हिर्काउनुभयो ।” उनका अनुसार ती शिक्षकले बालिकालाई पाँच बक्सिङ प्रहार गरेका थिए ।
अहिले पीडितको हातको पाखुरा सुन्निएको छ भने निलडाम स्पष्ट देखिन्छ । मेडिकल जाँच गराउँदा पाखुरामा रगत जमेकाले केही साता औषधि खानुपर्ने चिकित्सकले बताएका छन् । पीडित बालिकाकी आमा वीरमाया तामाङका अनुसार अहिले विद्यालयले कुटपिट गर्ने शिक्षक दाहाललाई लुकाएको छ ।
“हामीले विद्यालयमा राम्रा कुरा सिक्न पठाएका हौं, यसरी कुट्न पाउँछ,” आक्रोशमिश्रित स्वरमा उनले टाकुरासँग भनिन्, “नजान्ने भएकै कारण त पढ्न पठाएका हौं, यसरी सिकाइ हुन्छ ?” उनले अहिले मासिक दुई हजार दुई सय रुपैयाँ शुल्क बुझाउँदै आएको बताइन् ।
उनले कुटपिट गर्ने शिक्षकलाई कारबाहीसहित बालिकाको सुराक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखिन् । “मरणासन्न हुनेगरी कुटपिट गर्ने शिक्षकलाई कारबाहीसहित निष्कासन गरिनुपर्छ,” उनले भनिन्, “यही तरिका हो भने के आधारले सुरक्षा हुन्छ भनेर विद्यालय पठाउने ?”
यता विद्यालयका प्रधानाध्यापक देवकुमार दाहालले शिक्षकबाट कुटपिट भएको स्वीकार गरे । “हिजो बेलुकै गार्जनले जानकारी गराउनुभएको हो, तर बेलुका जान सक्ने अवस्थै थिएन,” उनले भने, “अहिले हामीले विद्यालयको तर्फबाट के गर्नुपर्छ भनेर उहाँहरूसँग सलाह गरिरहेका छौं ।”
शिक्षक सुजन दाहाललाई सम्पर्क गराउनु भन्ने प्रश्नमा उनले शिक्षक नभएको र आफूले फोन प्रयास गरेको भन्दै पन्छिए ।














Discussion about this post