इटहरी : धरान फुटबल क्लब र गोधूली क्लब सुनसरी जिल्ला स्तरीय ए डिभिजन लिग फुटबलको उपाधीका लागि भिड्ने भएका छन् । इटहरी रंगशालामा आज (बिहीबार) सम्पन्न सेमिफाइनल खेलहरूमा जीत निकाल्दै दुई धराने क्लबले उपाधी भिडन्त पक्का गरेका हुन् ।
लिग अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा धरान फुटबल क्लबले बराहक्षेत्रको न्यू स्टार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको ७ औं मिनेटमा न्यू स्टारका सन्तोष श्रेष्ठले गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । धरानका सरोज राईले २७ औं मिनेटमा गोल फर्काएपछि खेल एक–एक को बराबरीमा आयो ।
त्यसको ११ मिनेटपछि धरानका विवेक टेम्बेले एक गोल गरी धरानलाई २–१ को अग्रता दिलाए । खेलको ४८ औं मिनेटमा विवेकले नै पेनाल्टी मार्फत थप एक गोल गरेपछि धरानले न्यू स्टारमाथि सहज जीत हात पार्यो । उक्त खेलको म्यान अफ द म्याच २ गोल गर्न सफल विवेक नै घोषित भए । उनलाई राष्ट्रिय जागृति क्लबका पूर्व अध्यक्ष ईश्वरी पराजुलीले नगद १ हजार ५ सय र मेडल प्रदान गरे ।
बिहीबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा धरानकै गोधूली क्लबले राष्ट्रिय जागृति क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । निर्धारित समय र त्यसपछि थपिएको अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
राष्ट्रिय जागृतिका लागि सुमित चौधरी र निकेश तामाङले मात्र गोल गर्न सफल भए भने स्मित तामाङको प्रहार गोल पोष्टमा लागेर बाहिरिएको थियो । रञ्जन कटुवालको प्रहार गोधूलीका गोलकिप्परले बिफल बनाएका थिए । गोधूलीका महेन्द्र बिष्ट, बबिन थापा, मार्टिन राई र अमृत राईको प्रहार गोलमा परिणत भएको थियो ।
उक्त खेलको म्यान अफ द म्याच गोधूलीका नीमा शेर्पा घोषित भए । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना र माहाधिबेशन प्रतिनिधि महेश बास्तोलाले नगद १ हजार ५ सय र मेडल प्रदान गरे ।
अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगको फाइनल खेल पौष २५ गते हुनेछ । फाइनल बिजेताले नगद ५० हजार पाउदा उपबिजेताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।












Discussion about this post