विराटनगर : विराटनगरस्थित कोसी अस्पतालका थप ११ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार यहाँका अन्य सरकारी तथा निजी अस्पतालले संक्रमितका बारेमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । यद्यपि, निजी अस्पतालमा शुक्रबार नोबेलका १ र न्यूरोका ३ स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बिहीबारै जनसम्पर्क र बिरामीको सेवामा खटिएका स्थानीय न्युरो अस्पतालका केही कर्मचारी संक्रमित भएको स्रोतले जनाएको थियो । पाँच सयभन्दा बढी जनशक्ति भएका दुवै अस्पतालले संक्रमित कर्मचारीलाई होम आइसोलेसनमा राखेर नियमित सेवा सञ्चालन गरिरहेका छन् ।
कोसीमा संक्रमित हुनेमा आँखा, शल्यक्रिया र नसासम्बन्धी तीन चिकित्सक रहेको अस्पतालकी सूचना अधिकारी मञ्जु यादवले बताइन् ।
उनका अनुसार संक्रमित हुने अन्य २३ कर्मचारीमा पीसीआर प्रयोगशालाका तीन र बाँकी अस्पतालको विभिन्न विभागमा कार्यरत नर्स, प्राविधिक, कार्यालय सहयोगी र सफाइ कर्मचारी हुन् । थप ११ जनामा शुक्रबार संक्रमण पुष्टि भएको यादवले प्रस्ट पारिन् ।
उक्त अस्पतालमा कोरोना कहरको पहिलो चरणमा चिकित्सकसहित १ सय ५० जना र दोस्रो चरणमा ९० जना संक्रमित भएका थिए । संक्रमित सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।












Discussion about this post