इटहरी : विराटनगरबाट एक वर्षीया बालिकालाई अपहरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानागरपालिका १२ रोडशेष चोकबाट अपहरणमा परेकी बूढीगंगा गाउँपालिका १ का दीपेन यादवकी एक वर्षीया छोरी निकिशा यादवको अपहरण गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्त एसपी नवीनराज राईका अनुसार बालिकालाई सकुशल उद्वार गरिएको छ ।
श्रावण २ गते बिहान ९ बजेको समयमा रोडशेष चोकबाट बालिका अपहरणमा परेको भन्ने सूचनासँगै १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटगर ६ का २७ वर्षीय रबीन्द्रकुमार साह र विराटनगर ५ की २७ वर्षीय अनु साह रहेकी छन् ।
‘बालिका अपहरणमा परेको गम्भीर प्रकृतिको घटना रहेकाले तत्काल हामीले अनुसन्धान सुरु गरेका थियौँ’ एसपी राईले भने, ‘रबीन्द्र कुमार साहको संग्लग्नता रहेको खूलेसँगै साहलाई श्रावण ३ गते पक्राउ गरी थप अनुसन्धान शुरु भएको थियो ।’
अनुसन्धानको क्रममा अपहरित बालिका भारतको दरभंगामा रहेको खुलेसंगै भारतीय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्धार गरिएको उनले बताए ।
अपहरणमा संग्लग्न साहलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।
पूर्व योजना अनुरुप बालिकाको अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी राईले जानकारी दिए । बालिकालाई रबीन्द्र कुमारको मोटरसाइकलमा हालेर दुहबी, भण्टाबारी र राजबिराज हुँदै भारतको कुनौलीतर्फ लगिएको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post