तरहरा : तरहरा जेसीजले सप्ताह कार्यक्रम अन्तर्गत चौथो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार तरहराको सगरमाथा खेल मैदानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको थियो ।
सन्तोष पुरी (सुशान्त) को संयोजकत्वमा भएको कार्यक्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक डीन डा. धनकेशर खड्का प्रमुख अतिथि थिए । उनले रक्तदान गर्नु भनेको मानवीय सेवा भएकाले महादान रहेको बताए ।
तरहरा जेसीज वर्ष २०२२ का अध्यक्ष उमेश राईको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी २० का वडाध्यक्ष तथा जेसीजका पूर्व अध्यक्ष मणिराम श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाका सभापति सुमन दाहाल, जेसीजका पूर्व अध्यक्ष तथा रेडक्रस हाँसपोसाका निवर्तमान अध्यक्ष चन्द्रकुमार गिरी, नेपाली कांग्रेस इटहरी १९ का सभापति दुर्गाप्रसाद पौडेल लगायतले बोल्दै मानवताको सेवाभन्दा ठूलो अर्को कुनै धर्म नहुने बताएका थिए ।
जेसीजले आगामी शुक्रबार लोकनृत्य प्रतियोगिता आयोजना गर्दै समापन कार्यक्रम गर्ने जनाएको छ ।












Discussion about this post