ओखलढुंगा : सिद्धिचरण नगरपालिका ३, अँधेरीका ३५ वर्षीय राजेन्द्र राईले सोमबार राति दुई वर्षीया छोरी रितिकाको हत्या गरेका छन्।
उनले २१ वर्षीया श्रीमती उषालाई समेत खुकुरी प्रहार गरी घाइते बनाएका छन्। घाइते उषाको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ।
मादक पदार्थ सेवन गरेका राजेन्द्र र उषाबीच सामान्य विवाद भएको थियो। सोही विवादको विषयलाई लिएर उनले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए।
प्रहरीका अनुसार राजेन्द्रले श्रीमतीलाई आक्रमण गरेपछि छोरी लिएर भाग्न खोजेकी थिइन्। तर उनले छोरी खोसेका थिए। श्रीमती भाग्न सफल भइन्। पछि स्थानीय र प्रहरी पुग्दा छोरी मृत भेटिइन्।
प्रहरीले अभियुक्त राईलाई नियन्त्रणमा लिन दुईघण्टा लागेको थियो। हातमा खुकुरी बोकेर घरभित्रबाट सबैलाई आक्रमणको प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिन कठिन भएको थियो।
उनले आफैंले टाउकोमा काटेका थिए। उनी पनि घाइते भएका छन्। अभियुक्तको समेत ओखलढुंगा सामुदायिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।
अभियुक्त राई चार वर्षअघि जर्बजस्ती करणी उद्योगको मुद्दामा परी केही समय कारागारमा बसेका थिए। दुवै घाइते भएकाले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post