मोरङ : मोरङको केराबारी गाउँपालिका–२ फाइवा क्षेत्रमा बिहीबार साँझ एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेको छ।
घरबाट करिब एक किलोमिटर टाढा जङ्गलमा ३१ वर्षीया पार्वती लिम्बूको शव भेटिएपछि प्रहरीले घटनाका विभिन्न पक्षमाथि अनुसन्धान थालेको छ।
घटनामा मृतकका श्रीमान् ३५ वर्षीय पूर्णबहादुर लिम्बूको अवस्थासमेत अनुसन्धानको विषय बनेको छ। उनी घरमै रगत बान्ता गरिरहेको अवस्थामा फेला परेका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठका अनुसार स्थानीयसँगको सोधपुछमा श्रीमान्–श्रीमतीबीच पटकपटक विवाद र झैझगडा हुने गरेको खुलेको छ। दुवैले मदिरा सेवन गर्ने गरेको पनि स्थानीयले बताएका छन्।
स्थानीयले जङ्गलमा महिलाको शव घोप्टो परेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको कम्मरभन्दा तल कपडा नभएको र कपडा घटनास्थलमै फेला परेको प्रहरीले जनाएको छ। मृतकको शरीरमा भने बाहिरी चोटपटक देखिएको छैन।
घटनास्थलमा पुगेका फरेन्सिक चिकित्सकले मदिरा सेवनपछि बेहोस भएको अवस्थामा कपडा खोलिएको हुनसक्ने प्रारम्भिक आशंका गरेका छन्। यद्यपि, यसबाट घटनाको वास्तविक प्रकृति यकिन हुन नसक्ने र मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठले प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिए पनि सबै पक्षलाई समेटेर अनुसन्धान भइरहेको बताए। मृतकको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ।
धनकुटासँग सीमा जोडिएको उत्तरी मोरङको राजारानी नजिकै पर्ने फाइवा क्षेत्रमा भएको घटनाबारे प्रहरीले थप प्रमाण र परिस्थितिजन्य विवरण संकलन गरिरहेको छ।
















Discussion about this post