विराटनगर : विराटनगरको तुलसी बहुमुखी सहकारीमा बचतकर्ताहरू आन्दोलनमा होमिएका छन् ।
बचत गरेको रकम दिनुपर्ने माग राख्दै तुलसी सहकारीका सदस्यहरूले सहकारी सञ्चालक र अध्यक्षको घर घेरेपछि प्रहरीले त्यसका सञ्चालकलाई पक्राउ गरेको छ ।
बचत गरेको रकम साँवा र ब्यासहित दिनुपर्ने माग राख्दै निरन्तर रुपमा निक्षेपकर्ताहरू आन्दोलनमा उत्रिएपछि प्रहरीले सहकारीका उपाध्यक्ष र सचिवलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय मोरङमा निक्षेपकर्ताहरूसँग प्रशासनको छलफल भएको थियो ।
‘छलफलमा ढिलोमा पाँच दिनसम्म अवधि पूरा भएको निक्षेपकर्ताहरुको रकम फिर्ता दिए पक्राउ परेका सचिव र उपाध्यक्षलाई प्रहरीले छोड्ने छ । नभए प्रहरीले कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने सहमति भएको छ,’ डिएसपी कार्कीले भने, ‘अहिले अभद्र व्यवहारमा म्याद थप गरिएको छ ।’
विराटनगरकी ४ की बिमला भट्टराईले तुलसी सहकारीमा मुद्दती खातामा १८ लाख जम्मा गरेको वर्ष दिन पूरा भइसक्दा पनि सहकारीले साँवा र ब्याज रकम दिन आलटाल गरेको बताइन् ।
‘मुद्दती खातामा जम्मा गरेको अवधि पूरा भइसक्दा पनि सहकारीले अहिलेसम्म साँवा र ब्याज दिन सकेको छैन,’ उनले भनिन्, ‘सहकारी धाएको महिनौं हुन लागिसक्यो । तर, सहकारीले भाखा दिँदै फर्काउने गरेको छ ।’
विराटनगरकै ममता कुमारी साहले पनि तुलसी बहुमुखी सहकारीमा बचत गरेको १८ लाख रुपैयाँ पाउनुपर्ने बताइन् ।
‘फिक्स डिपोजिट गरेको वर्ष दिन भयो । अवधि पूरा भएपछि सहकारीमा पैसा लिन आएको हप्तौँ बितिसक्यो । अहिलेसम्म दिने छाँटकाँट छैन,’ उनले भनिन् । जम्मा गरेको रकम सहकारीले नदिए आँफूहरू सडकमा आन्दोलन गर्न बाध्य हुने उनले बताइन् ।
उक्त सहकारीमा पछिल्लो एक सातायता बचतकर्ताले रकम लिन जाँदा संस्थाका अध्यक्षसहितका सञ्चालक समिति र कर्मचारी भेटिन छाडेका छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन् । उनी अहिले कार्यालयमा आउने नगरेको त्यहाँका कर्मचारीले बताएका छन् ।
सहकारीले टाँसेको सूचनामा भने हाल विश्वव्यापी रुपमा भइरहेको आर्थिक मन्दीको प्रभाव परेको उल्लेख छ ।














Discussion about this post