धरान : सहकारी समन्वय समिति धरान नगर समितिको आयोजनामा ६६ औं सहकारी दिवस मनाइएको छ ।
धरान १५ स्थित चुम्लुङ्ग भवनमा आयोजित सहकारी दिवस कार्यक्रममा सहकारी जोखिम हुँदा निक्षेपकर्ताहरूमा त्रास भएको अधिकांश वक्ताहरूले बताएका छन् ।
धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मात्रिकाप्रसाद भट्टराईले नियमकारी निकाय स्थानीय सरकारले सहकारीहरूलाई नियमन गर्न नसकिरहेको बताए ।
सहकारीको समस्या कोभिड महामारी, रसिया र युक्रेनको युद्दपछि आर्थिक मन्दी भएका कारण वित्तीय क्षेत्रमा ठूलो प्रभाव परेको बताए । विषम् परिस्थितिमा सहकारी शेयर सदस्य तथा वचतकर्ताहरूको मनोवल उच्च बनाउने गरी काम गर्नुपर्ने कुरामा जोड दिए ।
धरान उपमहानगरपालिकाको बोर्डमा उठाइएका सहकारी नियमनहरूलाई अनुगमन गरी सबैको सुझाव र सल्लाहबाट समस्याको निकासमा जाने उनको भनाइ छ ।
धरान १७ का वडाध्यक्ष मनोज (सूर्य) भट्टराईले सहकारी सञ्चालकहरू सबै ठिक नभएकाले शुद्विकरणको पनि आवश्यक पर्ने बताए ।
धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारमले संचालक समिति र कर्मचारीको गलत प्रविसत्तका कारण सहकारीभित्र संकट आएको बताए ।
आँफूले १३ वर्षदेखि सहकारी संघ सुनसरीमा प्रतिनिधित्व गरिरहँदा सहकारी संस्थाहरू दर्ता हुने क्रम बढिरहेपनि शुद्विकरणको आवश्यक पर्ने बताए । स्थानीय सरकारले नियमन गर्न आवश्यक देखिएको उनले बताए ।
जिल्ला बचत संघ सुनसरीका उपाध्यक्ष काजी गिरीले सहकारीको मूल्य मान्यता विपरीत सञ्चालन भएको हुँदा समस्या बढ्दै गएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले व्याजको लोभमा बचतकर्ता फस्न नहुने बताए ।
बचतकर्ताहरूले ब्याजको लोभमा सहकारीको वास्तविकता नबुझ्दा सहकारीहरूमा समस्या आएको उनले बताए । नेकपा एमालेका धरान नगर उपाध्यक्ष पारस काङमाङ राईले रेमिट्यान्स वृद्धिका लागि सहकारीले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
यस्तै, जसपाका नगर अध्यक्ष ताजुब लिम्बूले सहकारीले ६६ औँ स्थापना दिवस मनाइरहँदा आर्थिक क्षेत्रमा यसले महत्वपूर्ण योगदान पुर्याएको बताए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठले सहकारीका संचालकहरूले राखेको लोभलालचका कारण समस्या आएको बताए । सहकारी मूल्य मान्यताअनुसार सञ्चालन भएको खण्डमा सहकारीभित्रको समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।
यस्तै, उक्त कार्यक्रममा तीनजनालाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा उत्कृष्ट सहकारीतर्फ धरान १५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहकारी अभियन्ताको रूपमा धरान १५ का वडाध्यक्ष नरेश इवारम र सञ्चारकर्मी रश्मी प्रधान रहेका छन् ।
धरान नगर समन्वय समितिकी अध्यक्ष मिसन लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका उपाध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रममाथि प्रकाश पारेका थिए भने विजयपुर सहकारीका अध्यक्ष नवीन मेन्याङ्वोले कार्यक्रम सञ्चालन गरेका थिए ।












Discussion about this post