मोरङ : मोरङमा मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक समेत रहेका छन् ।
मोरङ र सप्तरी जिल्लाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गर्ने संगठित गिरोहका २ जना भारतीयसहित ६ जनालाई चोरी आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।
प्रहरीका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ का १८ वर्षीय राजकुमार यादव, भारतको अररिया लक्ष्मीपुर १० बस्ने २५ वर्षीय सुशील कुमार यादव, सोही ठाउँका २५ वर्षीय सौरभ कुमार यादव, विराटनगर महानगरपालिकाका दिनेश साह, सोही ठाउँका संजय साह र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ का २० वर्षीय सुमन कुमार यादवलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूको साथबाट चोरीको पाँच थान मोटरसाइकल र चोरीमा प्रयोग गरिने मास्टर चाबी समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरी गर्ने पेसेवर गिरोहलाई निगरानीमा राखी सादा पोसाकमा विशेष अपरेसन टोली खटाइएर चोरिएका मोटरसाइकलहरूको खोजी गर्ने गरिएको मोरङ प्रहरीले जनाएको छ ।












Discussion about this post