इटहरी : पछिल्लो समय विद्युत कटौती हुन थालेपछि आम मानिस समस्यामा पर्न थालेका छन् ।
कोसी प्रदेशका ठूला सहर विराटनगर, इटहरी, धरान, बिर्तामोड, दमक, उर्लाबारी, उदयपुरको गाइघाट लगायतका क्षेत्रमा विद्युत कटौती हुन थालेपछि आम मानिस मर्कामा परेका हुन् ।
पूर्व सूचना नै नदिई झ्याप्प–झ्याप्प विद्युत जाँदा समस्या भएको आम मानिसको गुनासो छ ।
गत पुस महिनादेखि भोग्दै आएको विद्युतको अनियमित आपूर्ति, बारम्बारको ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत कटौती जस्ता कारणले व्यवसायीसँगै सर्वसाधारण जनता मारमा छन् ।
इटहरीसहित विभिन्न ठाउँमा अस्वभाविक रूपमा बिजुली गएपछि धेरैजसो मानिसले सामाजिक सञ्जालमार्फत विद्युत प्राधिकरणको आलोचना गरेका छन् ।
उद्योग संगठन मोरङले एक विज्ञप्ति नै जारी गरेर विद्युत प्राधिकरणको आलोचना गरेको छ ।
संगठनले लामो समयदेखि बजारमा ब्याप्त आर्थिक मन्दी, बैँकको चर्को ब्याजदर लगायत आन्तरिक तथा बाह्य कारणले थला परेको उद्योग, व्यवसायको क्षेत्रमा विद्युतको समस्याले झनै पिरोलेको बताइएको छ ।
‘वर्तमान विषम् परिस्थितिमा समेत आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तुमाथिको परनिर्भरतलाई कम गर्न र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउदै आइरहेका उद्योग व्यवसाय विद्युत समस्याका कारण निर्वाध संचालन हुन सकेनन् भने बन्द गरी उद्योगी, व्यवसायी सडकमा आउनुपर्ने अबस्था आएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसपश्चात उत्पन्न हुने विकराल अवस्था प्रति गम्भीर हुन संगठन सम्वन्धीत निकायमा अनुरोध गर्दछ ।’
विद्युत प्राधिकरणले भने विभिन्न कारण देखाएर जुनसुकै समयमा पनि विद्युत कटौती गर्ने गरेको छ ।
झ्याप्प–झ्याप्प विद्युत कटौती किन भइरहेको छ भन्ने सन्दर्भमा विद्युत प्राधिकरण इटहरीका सम्बन्धित व्यक्तिसँग पटकपटक बुझ्न खोजेपनि पनि सम्पर्क भएन ।
कतिपयले भने अहिले विराटनगरको रानीदेखि धरानसम्मको ६ लेन सडक निर्माण भइरहेको र दुहबी बजारमा मंगलबारै सडक क्षेत्राधिकारभित्र पर्ने भवन तथा घरहरू भत्काइएका कारण पनि विद्युत अवरुद्व भएको बताएका छन् ।














Discussion about this post