विराटनगर : विराटनगर ७ स्थित ट्राफिक चोकमा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी संस्थामा केही महिनायता बचत फिर्ता माग्ने बचतकर्ताको भीड लागेको छ ।
आज दिन्छु, भोलि दिन्छु भन्दै थुमथुमाएका सहकारीका अध्यक्ष रामबहादुर घिमिरेलाई बुधबार भने बचतकर्ताले अफ्टयारोमा पारेका छन् ।
उक्त सहकारीमा ३ हजार ५ सय बढी बचतकर्ता छन् । उनीहरूले २ करोड ५० लाख बचत गरेको अध्यक्ष घिमिरेले बताए ।
‘सहकारीमा ३ हजार ५ सय बचतकर्ताको २ करोड ५० लाख बचत फिर्ता दिनुपर्नेछ,’ घिमिरेले भने, ‘ऋण लगानीमा साढे ५ करोड छ । अहिले व्यवस्थापक नभएको कारणले अरू हिसाबको यकिन गर्न सकिएन ।’
बचतकर्ताले घेरिएपछि अध्यक्ष घिमिरे र सहकारीका एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले सहकारीका मेनेजर तीन महिनादेखि कार्यालय छोडेर हिँडेको कारण समस्या भएको बताए ।
‘हिसाब फरफारक गर्नका लागि रजिस्टार कार्यालयबाट समिति निर्माण भएको छ र हिसाब हेर्ने काम भइरहेको छ । पहिले हिसाब छानबिन नगरीकन राष्ट्रिय सहकारी बैङ्कले पैसा रिलिज नदिएको कारणले पनि बचत फिर्ता दिन समस्या भयो । रिसाएर, जङ्गिएर र तातिएर हुने केही होइन,’ उनले भने, ‘मुलुकमा आर्थिक तरलता छ । यस्तो अवस्थामा पनि हामीले बचतकर्तालाई केही रकम फिर्ता गरिरहेका थियौँ । पाउनु पर्ने भुक्तानी पनि बैङ्कबाट रोक्का भएको कारणले फिर्ता दिन नसकेको हो ।’
उनले सहकारीका मेनेजर लोचन राईले ३५ लाख भन्दा बढी पैसा हिनामिना गरेको र घर बेचेर दिन्छु भनेको प्रतिक्रिया दिए ।
सहकारीमा बचत लिन आएका केही व्यक्तिले कम्प्युटर, प्रिन्टर र बस्ने टुलहरू समेत लिएर हिँडेका छन् । ‘सर्वसाधारणले सहीछाप गरेर कम्प्युटर, प्रिन्टर तथा केही टुल्सहरु लिएर हिँडेका छन्,’ बचतकर्ता अनील श्रेष्ठले भने ।














Discussion about this post