विराटनगर : विराटनगरस्थित नोबेल अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा हाडनाता करणीका एक जना आरोपित मृत फेला परेका छन् ।
हाडनाता करणी मुद्दा चलाउन प्रहरीले नियन्त्रणमा लिएका मोरङका ३३ वर्षीय पुरुष बुधबार (आज) बिहान शौचालयभित्र मृत्यु भएको अवस्थामा भेटिएका मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार शौचालयको भित्रबाट ढोका बन्द गरी चुकुलको हेन्डिलमा आफैँले लगाएको कपडाले घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा उनलाई मृत फेला पारिएको हो ।
प्रहरीका अनुसार बिहान ५ः२० बजेतिर उनी शौचालय छिरेका थिए । उनले यसअघि पनि घाँटी रेटेर आत्महत्याको प्रयास गरेको खुलेको छ । हाडनाता करणीको आरोप लागेपछि अनुसन्धानका लागि जेठ १२ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
हाडनाता जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गर्नलाई जेठ १४ गते आइतबार विराटनगरस्थित जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याइएका बेला नेपालीले आत्महत्याको प्रयास गरेका हुन् ।
प्रहरीका अनुसार पिसाब गर्न भनेर वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा गएका नेपाली निक्कै बेरसम्म बाहिर नआएपछि हेर्दा त्यहाँभित्रै अचेत अवस्थामा लडिरहेको भेटिएका थिए ।
घाँटीको अगाडिको भाग रेटेर घाइते भएको अवस्थामा शौचालयभित्र भेटिएका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि कोसी अस्पताल लगिएको थियो ।
उनलाई थप उपचारका लागि कोसीबाट नोबेल अस्पताल लगियो । उपचार पश्चात निको हुँदै गएका उनले आफूलाई मर्न मन लागेकाले नबचाउन पटक–पटक आग्रह गर्ने गरेको आफन्तले बताएका छन् ।
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post