इटहरी : इटहरी उपमहानगरपालिकाले चालु शैक्षिक वर्षमा शिक्षा क्षेत्र सुधारका लागि स्थानीय शिक्षा ऐन, २०८० लागु गरेर इटहरीका मेयर हेमकर्ण पौडेल शिक्षा सुधार अभियानमा लागि परेका छन् ।
इटहरीको शिक्षा क्षेत्रको सुधार आवश्यक भएको भन्दै मेयर पौडेल अहिले सुधार अभियानमा लागेको बताइन्छ ।
इटहरीमा रहेको ३७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर राजनीति नगर्न मेयर पौडेलले निर्देशन दिएका छन् ।
मेयर पौडेलले राजनीतिक दलहरूमा आबद्ध शिक्षकहरूलाई दलको सक्रिय राजनीति गर्ने भए पढाउन छोड्न चेतावनी समेत दिएका छन् ।
‘शिक्षामा राजनीति नहुने हो भने सामुदायिक विद्यालयहरू अझैपनि राम्रो बनाउन सकिन्छ,’ मेयर पौडेलले भने ।
मेयर पौडेलले शिक्षकहरू समयमा विद्यालय नजाने र समय अवधिभर नपढाउने गुनासो बढेको भन्दै समयमा विद्यालय नजानेलाई कारबाही गरिने बताए । पोसाक नलगाई विद्यालय आउनेहरूको पोसाक भत्ता समेत कटौती गर्ने मेयर पौडेलले चेतावनी दिए ।
यसैबीच आइतबार विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरूको भेला राखेर विद्यालय सुधारमा लाग्न निर्देशन दिएका छन् ।
उपमहानगरले भौतिक संरचनासँगै आवश्यक बजेट विनियोजन गर्न उपमहानगरपालिका तयार रहेको उनले बताए ।
जनता माध्यामिक विद्यालय इटहरीका व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले पाँच वर्ष अगाडिसम्म स्थानीय सरकारको बेवास्तामा परेको सामुदायिक विद्यालयलाई नगरले अहिले चासो देखाएर सुधारको अभियान सुरु गर्नु सकारात्मक रहेको बताए ।













Discussion about this post