धरान : धरान उपमहानगरपालिकामा धाराबाट वितरण भइरहेको खानेपानीमा दिसापिसाबमा हुने जिवाणु ‘कोलिफर्म’ भेटिएको छ ।
धरान खानेपानी व्यवस्थापन बोर्डले धरानबासीलाई वितरण गरिरहेको पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको परीक्षणबाटै पुष्टि भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी धरानका तर्फबाट सचिव सुमन श्रेष्ठले आफैं दुषित खानेपानीबाट पीडित भएपछि आफ्नै खर्चमा इटहरीस्थित खानेपानी मन्त्रालय अन्तर्गतको जल गुणस्तर परीक्षण ल्याबमा धरानका खानेपानीका विभिन्न स्रोतका पानी संकलन गरी परीक्षणका लागि दिएका थिए ।
पानीमा कोलिफर्म भेटिएको प्रतिवेदनसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष राजेशमान श्रेष्ठसहितको टोली बिहिबार नगर प्रमुख राईलाई ध्यानाकर्षण गराउन पुगेको थियो ।
७ ठाउँको नमूना पानीमा ‘कोलिफर्म’ को मात्रा ३५ सम्म भेटिएको थियो । राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड, २०७९ अनुसार पानीमा कोलिफर्मको मात्रा हुनु हुँदैन ।
रिपोर्टअनुसार फुस्रेस्थित रिजर्भवेयर ट्यांकीको पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा ३० भेटिएको थियो भने विजयपुर ट्यांकीबाट आउने गौधाराको पानीमा ३५, खर्दु खोलाबाट ट्यांकीमा मिसाइएको पानीमा १५, सर्दुको पानीमा १०, निशाने ट्यांकीको पानीमा २० र विष्णुचोकस्थित कोका खोलाबाट ल्याइएको पानीमा कोलिफर्मको मात्रा ५ भेटिएको छ ।
नगर प्रमुख हर्क साम्पाङको नेतृत्वमा सञ्चालन गरिएको अभियानबाट ल्याइएको पानी सिधै ट्यांकीमा मिसाइएको नगरवासीको गुनासो छ । ‘ट्रिटमेन्ट’ र परीक्षण नगरिएको पानीले रोगको संक्रमण भित्रिएको भन्दै नगरवासीले गुनासो गर्दै आएका छन् ।
धरानमा चार महिनायता डेंगीको महामारी फैलिएको छ ।
भाइरल ज्वरो, आँखा पाक्ने समस्याले पनि उत्तिकै समस्या छ । डेंगी महामारी फैलिएपछि धरानका कतिपय नेता तथा वुद्धिजिबीले खानेपानी बोर्डले फोहोर पानी वितरण गरेका कारण विभिन्न रोग फैलिएको आरोप लगाउँदै आएका छन् ।














Discussion about this post