इटहरी : कोसी प्रदेश सरकारबाट सुनसरीकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रूपमा प्रोत्साहन पुरस्कार पाएको इटहरीको जनता माविले नौ कोठाको साइन्स ल्याब बनाएको छ ।
पछिल्लो पाँच वर्षमा मात्र इटहरी ६ र ९ मा गरी यस स्कुलका ७ वटा भवन र ६७ वटा कोठा विस्तार गरेको विद्यालयले यो वर्ष साइन्स विषयलाई प्राथमिकता दिएर पूर्वाधार निर्माण गरिरहेको छ । सोही क्रममा इटहरी ९ मा ९ कोठाको ल्याब निर्माण गरेको हो ।
यससँगै ४०–४० जना बसेर चलाउन मिल्ने गरी दुई वटा कम्प्युटर ल्याबसमेत सञ्चालनमा ल्याएको छ । दुवै ल्याबहरू कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रयोग गर्नेछन् ।
विद्यालयमा हाल तीन हजार पाँच सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको संख्या निरन्तर बढ्दै गएपछि विद्यालयले पूर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ ।
यससँगै यो वर्षदेखि इटहरी वडा नं. ९ मा रहेको आफ्नो ग्राउण्डलाई विद्यालय माताहत ल्याएको छ । वरपर प्रयोगविहिन भएको आफ्नो जग्गालाई पनि कम्पाउण्डभित्र ल्याइ स्तरोन्नतीको काम अघि बढाइएको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।
विद्यार्थीको संख्या बढेपछि लामो समयदेखि सार्वजनिक मेला, महोत्सवमा प्रयोग भइरहेको स्कुलको जग्गालाई अब कम्पाउण्डभित्र समेट्नुपरेको बताए । यसका साथै अगाडी बास्केटबल कोर्ट लगायत खेल पुर्वाधारहरु निर्माण गर्ने काम पनि भइरहेको छ ।
साथै विद्यालयले नयाँ भर्नाको लागिसमेत तयारी गरेको छ । यस वर्ष ३०० जना भर्ना लिने तयारी गरिएको उनले बताए ।
विद्यालयले पछिल्लो पाँच वर्षमा काँचुली फेरेको छ । काशीनाथ दंगाल नेतृत्वको व्यवस्थापन समिति आएपछि विद्यालय सुनसरीमै आकर्षणको केन्द्र बनेको छ । विद्यालयको शिक्षण र व्यवस्थापन चुस्त छ भने भौतिक पूर्वाधार निर्माणका कामहरु पनि भइरहेका छन् ।
२०१३ सालमा इटहरीको दोस्रो विद्यालयका रुपमा स्वीकृति पाएको विद्यालय बिचमा वेवास्ताको शिकार बनेको थियो । विद्यार्थी संख्या घट्दै गएको र विद्यालयको साखः घट्दै गएको समयमा काशीनाथ दंगाल नेतृत्वको व्यवस्थापन समिति आएपछि विद्यालयमा सुधारका कामहरु हुन थालेका हुन् ।
विद्यालयमा नेपाली र अंग्रेजी पढाउने छुट्टाछुट्टै दुइ वटा ब्लकहरू छन् । विद्यार्थीहरुले पढ्नै पर्ने महत्वपूर्ण किताबहरु भएको पुस्तकालय, कम्प्युटर ल्याब, आफ्नै ३ वटा स्कुल बस भएको जनता माविमा शिक्षक कर्मचारी गरेर डेढ सय बढी आबद्ध छन् ।
हरेक कक्षाकोठामा सीसी क्यामेरा जडान गरिएको छ ।
शिक्षाको मनिटरिङ कोठाबाटै हुने गरेको प्रिन्सिपल पशुपति सिग्देल बताउँछन् । कक्षा कोठाहरुलाई स्मार्ट बनाउनेदेखि अंग्रेजी माध्यमबाट पढाउने अनि इटहरीभरीकै उत्कृष्ठ शिक्षकहरु नियुक्त गर्ने क्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थीको चाप थेगिनसक्नुले बढेको छ ।
विद्यालयमा कम्प्युटर, शिक्षा, मानविकी विज्ञान र व्यवस्थापन समूहमा पढाई हुँदै आएकोमा यस वर्षबाट कानुन विषय पनि थप गरिएको सिग्देलले जानकारी दिए ।
दंगालका अनुसार विद्यालयका शिक्षकहरू, व्यवस्थापन समितिका बाँकी सदस्यहरू, अविभावकहरू र स्थानीय राजनीतिक दलका नेतृत्वहरू सबैको साथ सहयोगका कारण यो उपलब्धी पाएको बताए ।












Discussion about this post