विराटनगर : विराटनगर महानगरपालिकाको करिब चार करोड लागतमा नहर डिलको सडक कालोपत्रे गरिने भएको छ ।
विराटनगर–४ राजवंशीचोक पश्चिम पुलचोकदेखि वडा नम्बर १३ को रानी–धरान सडकको नहरसम्म कालोपत्रे हुने भएको छ । त्यसका लागि ठेक्का लागेर निर्माणसमेत सुरु भइसकेको छ ।
निर्माणाधीन सडकको सोमबार महानगरका मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् ।
महानगरको ३ करोड ८२ लाख रुपैयाँको आन्तरिक स्रोतबाट सो सडक निर्माण गर्न लागिको मेयर कोइरालाले बताए ।
उक्त सडक निर्माणपछि धरान रोडमा देखिँदै आएको ट्राफिक समस्या केही मात्रामा भए पनि समाधान हुने मेयर कोइरालाको भनाइ छ । ६ करोड ३४ लाख अनुमानित लागत गरिए पनि ३ करोड ८२ लाख रुपैयाँमा ठेक्का लागेको छ ।
गत भदौ ६ गते ठेक्का सम्झौता लागेको सो सडकमा हाल ग्राभेलको काम भइरहेको छ । ठेक्का सम्झौताअनुसार ५ दशमल ५ किलोमिटर सडक निर्माण हुनेछ ।
यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्रे भइसकेको छ । आगामी भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
तर चैतभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको महानगरका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थपलियाले जानकारी दिए ।
अनुगमनका क्रममा मेयर कोइरालाले स्थानीयसँग छलफलसमेत गरेका थिए ।
वडा नम्बर ४ का वडाध्यक्ष जितन थापा, वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेसहितका जनप्रतिनिधिसमेत अनुगमनमा उपस्थिति रहेका थिए ।














Discussion about this post