विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकले प्राप्त गरेका अनुभव, ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्नेमा जोड दिएका छन् ।
चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघ, ज्येष्ठ नागरिक जिल्ला संघ मोरङ र विराट ज्येष्ठ नागरिक समाज विराटनगर महानगर समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले किताबको ठेलीमा भन्दा बढ्ता ज्ञान ज्येष्ठ नागरिकहरूको अनुभवबाट प्राप्त गर्न सकिने बताए ।
जीवनमा हरेक व्यक्ति ज्येष्ठ नागरिक हुने बताउँदै मेयर कोइरालाले भने, ‘ज्येष्ठ नागरिक भनेका हजारौं पानाका किताब हुन् । समाजले उनीहरूलाई पढ्न सक्नुपर्छ । उनीहरूले प्राप्त गरेका अनुभवलाई ग्रहण गर्नुपर्छ र समाजलाई सही मार्गमा अगाडि बढाउनुपर्छ ।’
मेयर कोइरालाले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिनु जरूरी रहेको औंल्याए ।
वैदेशिक रोजगारीले ज्येष्ठ नागरिकलाई समस्यामा पारेको उनको भनाइ थियो ।
‘छोरा विदेशमा हुने, यता बुहारी छोराछोरी पढाउनका लागि सहरमा बस्ने गर्दा गाउँमा वृद्ध आमा र बुबा मात्रै हुने अवस्था पनि छ । यसले ज्येष्ठ नागरिकले दुःख पाएको अवस्था देखिन्छ,’ उनले भने, ‘यति मात्रै होइन छोराछोरीहरू अध्ययन र रोजगारीका लागि विदेश पलायनले पछिल्लो समय सहरमा पनि ज्येष्ठ नागरिकहरूमा एक्लोपन हुने क्रम बढ्दो छ ।’
मेयर कोइरालाले विराटनगर महानगरपालिकाले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथ औषधिसमेत वितरण गर्दै आएको जानकारी गराए ।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेश अध्यक्ष मणिकुमार अज्र्याल, मोरङ अध्यक्ष एकेश्वर निरौला, विराटनगर महानगर समिति अध्यक्ष सुरेशकुमार श्रेष्ठ, उपाध्यक्ष रमानाथ भट्टराईलगायतले ज्येष्ठ नागरिकका मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।














Discussion about this post