इलाम : इलाममा श्रीमतीको हत्या गरी खाल्डो खनेर पुर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
१९ वर्षीया विमला कट्टेलको हत्या गरी खाल्डो खनेर गरेको आरोपमा प्रहरीले २५ वर्षीय उमेश गिरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । गिरी र कट्टेल श्रीमान–श्रीमती हुन् ।
फाकफोकथुम गाउँपालिका–३ का गिरीले गत फागुन २९ गते राति घरबाट अलिक पर श्रीमतीसँगै गएर मुक्का प्रहार गर्दा श्रीमती लडेपछि घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका एसपी एकनाथ कोइरालाकाअनुसार घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
हत्यापश्चात् गिरीले फाकफोकथुम–२, धार्नेखोपको दाहाल गोलाईमा कच्ची सडकमा खाल्डो खनेर पुरेको पाइएको छ ।
विमलाको शव उत्खनन गरेर पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको एसपी कोइरालाले जानकारी दिए ।
हत्या गरिएकी कट्टेल गर्भवती अवस्थामा रहेको पाइए पनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने कोइरालाले बताए ।
विमला बेपत्ता भएको भन्दै उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा निवेदन दिए पछि उनको खोजी गर्ने क्रममा हत्या गरिएको खुलेको हो।
पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



















Discussion about this post