सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–६ नरहचोक नजिक मंगलबार (आज) सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई)को मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका–१ का ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
चिमडीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए ।
घाइते यादवको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
सोही मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ४७ वर्षीया रामपरी यादवको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको विराट नर्सिङहोममै उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत यादव जिल्ला प्रहरी कार्यालय सिरहाका लागि रवाना लिएर गएका थिए ।
ठक्कर दिने कार र चालक मोरङ कटहरी गाउँपालिका–३ का ५० वर्षीय डा. राजेन्द्र चौधरी सुनसरी प्रहरीको नियन्त्रणमा छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।













Discussion about this post