इटहरी (डेस्क) : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषधसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागूऔषधसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका ६ स्थितमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बंगाल दार्जिलिङका ४१ वर्षीय राजेन बर्मनको साथबाट १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारेर पक्राउ गरेको छ ।
यसैगरी झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा ४ का २८ वर्षीय भुवन न्यौपानेलाई उनकै घरबाट ब्राउनसुगर १ ग्राम ९ सय ४० मिलिग्रामसहित पक्राउ गरेको हो ।
त्यसैगरी विराटनगर महानगरपालिका १५ बाट सुनसरी धरान ८ का १९ वर्षीय समन न्यौपाने र १९ वर्षीय अभिषेक याख्खालाई १ ग्राम १५ मिलिग्राम ब्राउनसुगरसहित लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले पक्राउ गरेको हो ।
त्यस्तै, उदयपुरको बेलका नगरपालिका ९ बाट को ३९ प ५६४९ नम्बरको स्कुटर चालक बेलका ३ का २६ वर्षीय मुस्कान राई र पछाडि सवार २१ वर्षीय खम्ब बहादुर दाहाललाई ब्राउनसुगर १ ग्राम ३३८ मिलिग्रामसहित इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका ६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभूमी गाउँपालिका ७ की ४२ वर्षीया ईन्दिरा राई र ४९ वर्षीया सीता कार्कीलाई २० किलोग्राम गाँजासहित पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post