धरान : धरानमा पछिल्लो समय गाँजाको कारोबार हुने गरेको घटनामा प्रहरीले निगरानी बढाएको छ ।
यसैबीच धरान उपमहानगरपालिका–१३ आँपगाछीबाट प्रहरीले १९ किलोग्राम लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले लागूऔषध गाँजा बरामद गरेको हो ।
धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको अटो टेम्पोलाई शंका लागेर चेकजाँच गर्दा १८ वटा पोका बनाएर ल्याइएको १९ किलो गाँजा फेला परेसँगै तीन जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा अटो चालक धरान–४ का ४८ वार्षीय जोकबहादुर राई, उनका छोरा ३० वर्षीय सुमन राई र अटोमा सवार धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का ३६ वर्षीय सुरज लिम्बू रहेका छन् ।
पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।



















Discussion about this post