मोरङ : मोरङको ग्रामथान गाउँपालिका–७ स्थित कलाबन्जार चोकबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा प्रहरीले ३ सय ४७ किलो १ सय १० ग्राम गाँजा फेला पार्नुका साथै भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला, प्रर्वाहा निवासी ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका–५ निवासी ३० वर्षीय राजेशकुमार कामत रहेका छन्।
इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो। उनीहरू प्रदेश १–०४–००१ प ९८३५ नम्बरको मोटरसाइकलमा सवार थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, गाँजा लुकाइएको बारे पक्राउ परेकाहरूको बयानका आधारमा बुधबार दिउँसो २ः३० बजे गाँजा बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री र सई नीरबहादुर खड्काको टोली तथा कोशी प्रदेश प्रहरीको प्रादेशिक अनुसन्धान समूहको सहयोगमा अपरेशन सफल भएको हो।
ह्युम पाइपभित्र लुकाएर राखिएको अवस्थामा गाँजा भेटिएको प्रहरीले जनाएको छ। गाँजा १२ वटा बोरामा प्याक गरी राखिएको थियो।
मोरङ प्रहरीका प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाहरूलाई लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।



















Discussion about this post