इटहरी : इन्सेक कोशी प्रदेश कार्यालय र गठित गाउँपालिकास्तरीय मानव अधिकार समूह बर्जुले मङ्गलबार सुनसरीको बर्जु गाउँपालिका ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वृक्षारोपण गरेको छ ।
मानव अधिकार समूहका अध्यक्ष जितनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टिक, मसला, अम्बा, अमला, सिसौ जातका दुई सय ५० थान बिरूवा बालबालिकाहरूले घरघरमा रोपेका छन् ।
वृक्षारोपणको उद्देश्य र वातावरणीय जिम्मेवारीको बारेमा जानकारी दिदैँ इन्सेक सहजकर्ता दीपेन्द्रकुमार झाले जागरूकता जगाउनका साथै राज्यका निकायहरू र नीति निर्माताहरूलाई दिगो वृक्षारोपणको रणनीतिहरू अपनाउन यस्ता कार्यले प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बाल क्लब संरक्षक शिक्षक दीपक चौधरी, विद्यालय व्यवस्थापन समिति सदस्य राजकपुर चौधरी, शिक्षकहरू बैशनाथ चौधरी, रंगराज काफ्ले, गणेश यादव, पूर्णिमा चौधरी, गुलजरीया यादवले जलवायु परिवर्तनको असर न्यून गर्न वृक्षारोपणले मद्धत गर्ने बताए ।
प्रत्येक विद्यार्थीलाई रूख रोप्न प्रोत्साहित गरेर वातावरण संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक विद्यार्थी एक वृक्षारोपण अभियान सुरु गरिएको इन्सेक कोशी प्रदेश कार्यालयले जनाएको छ ।
कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलका अनुसार पृथ्वीको विनाशबाट बचाउने उत्तरदायित्व मानवकै हो भनेर कार्यक्रममार्फत जलवायु कार्यमा व्यक्तिगत र सामुदायिक सहभागितालाई सुदृढ पार्न खोजिएको हो ।
यो अभियान विश्व वातावरण दिवस ५ जुन २०२५ देखि अन्तर्राष्ट्रिय जलवायु कार्य दिवस २३ अक्टोबर २०२५ सम्म चल्ने उनले बताए ।














Discussion about this post