इटहरी : झापा, मोरङ र सुनसरी जिल्लाबाट प्रहरीले लागूऔषध गाँजा, ब्राउनसुगर, नाइट्राजेपाम र ट्रामाडोलसहित ९ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित प्रहरी चौकी भरौलको टोलीले चेकजाँचको क्रममा प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कारबाट १ सय २० किलोग्राम गाँजा बरामद गरेको हो। उक्त कारका चालक विराटनगर–४ का २६ वर्षीय धीरज गोसाई र कारमा सवार झापा जहदा गाउँपालिका–७ का २२ वर्षीय विकास यादव पक्राउ परेका छन्।
यस्तै, मोरङको रतुवामाई नगरपालिका–१ मा इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचका क्रममा ४१ ग्राम ८१० मिलिग्राम ब्राउनसुगरसहित रतुवामाई–४ का ३५ वर्षीय रञ्जित शर्मा र ३० वर्षीय रोमबहादुर राजवंशीलाई नियन्त्रणमा लिएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले सुन्दरहरैँचा नगरपालिका–७ का २१ वर्षीय रोहित मगरलाई २ ग्राम ४९ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ। सोही ब्यूरोले विराटनगर–११ का १९ वर्षीय निखिल मल्लिकलाई नाइट्राजेपाम ७० ट्याब्लेटसहित पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय विराटचोकले ट्रामाडोल ९० ट्याब्लेटसहित सुन्दरहरैचा–९ का २७ वर्षीय अनिल कुमारलाई पक्राउ गरेको जनाएको छ।
त्यसैगरी, लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा झापाले कनकाई नगरपालिका–३ का २७ वर्षीय निर्मल विश्वकर्मा र मोरङ मिक्लाजुङका २० वर्षीय शिशिर लिम्बूलाई २ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैजनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।













Discussion about this post