विराटनगर : मोरङ, सुनसरी र उदयपुरबाट लागूऔषध ओसारपासरमा संलग्न चार जना महिलासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध बेचबिखान भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वे, अमरहाट र बरगाछीबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १ हजार ६२ क्याप्सुल, डिकोलिक ८ सय ४२ ट्याब्लेट र डिभोमिन २ सय २० चक्कीसहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धरान १० का २४ वर्षीय अंकित राई र धरान ६ का २१ वर्षीय भरत मगर, धरान १३ का २३ वर्षीय सागर राई, धरान ५ की २१ वर्षीया ज्योती राई, २६ वर्षीया नुमा लिम्बु र धरान ५ की २३ वर्षीया सुजना राईलाई पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको रंगेली नगरपालिका ६ स्थित इलाका प्रहरी कार्यालय रंगेलीले चेकजाँचको क्रममा दमक नगरपालिका ९ झापाका ३५ वर्षीय शिव कुमार सोरेन र कमल गाउँपालिका १ का ३३ बर्षीय आकाश खड्कालाई नाईट्राजाम १ सय ५५ चक्कीसहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका ८ की २१ वर्षीया रेजिना राईलाई ट्रामाडोल ७६ क्याप्सुलसहित पक्राउ गरेको छ ।
पक्राउ परेका सबैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post