इटहरी : सुनसरीमा स्रोत नखुलेको ठूलो रकम र लागूऔषध ब्राउनसुगरसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
कोशी गाउँपालिका–१, लौकहीबाट दुई लाख ५६ हजार रुपैयाँ नगद र ८८ ग्राम ३८० मिलिग्राम ब्राउनसुगर बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।
पक्राउ पर्नेमा कोशी गाउँपालिका–४ का ३४ वर्षीय मनोजकुमार खत्वे र भारत, बिहारको अररिया जिल्ला बस्मतियाका ४५ वर्षीय राजकुमार खत्वे छन्।
खतिवडाका अनुसार मनोजकुमारको साथबाट स्रोत नखुलेको नगद रकम बरामद गरिएको हो भने राजकुमारको साथबाट ब्राउनसुगर फेला परेको हो।
उनीहरूलाई मंगलबार साँझ करिब ५ बजेतिर पक्राउ गरिएको उनले जनाए । हाल जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यता, सुनसरीकै बराहक्षेत्र नगरपालिका–२ का २० वर्षीय रमेश बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ।
इनरुवा नगरपालिका–४ मा पैदल हिँडिरहेका उनलाई चेकजाँच गर्दा साथबाट १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
बस्नेतमाथि पनि लागूऔषध कारोबार तथा ओसारपसार सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।













Discussion about this post