सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारे केशलिया पुल नजिक १८.५८ किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले सो क्षेत्रमा चेकजाँच सञ्चालन गरेको थियो।
सो क्रममा मोरङबाट सुनसरीतर्फ पैदल आउँदै गरेका एक युवकले प्रहरीलाई देख्नेबित्तिकै पछाडि बोकेको कालो ब्याग फालेर भाग्ने प्रयास गरेका थिए।
प्रहरीले उनलाई पछ्याउँदै जिल्ला विराटनगर महानगरपालिका–५ रिङरोड क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका व्यक्ति सुनसरी बर्जु गाउँपालिका–३ निवासी २२ वर्षीय मुकेश कुमार चौधरी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले फालिएको दुईवटा ब्याग खोलेर हेर्दा त्यस भित्र प्याक गरिएको अवस्थामा कुल १८.५८ किलोग्राम (अठार किलो पाँच सय असी ग्राम) गाँजा फेला परेको थियो।
पक्राउ परेका चौधरीलाई गाँजाऔषधसहित इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएको र थप अनुसन्धान भइरहेको जनाइएको छ।













Discussion about this post