विराटनगर : नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेश सरकारको मन्त्रिमण्डल चाँडै नै पुनर्गठन गरिने बताएका छन्।
सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले यसअघि भएको सहमतिअनुसार नै कोशी प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन्। कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार नेतृत्व भने तोकिएको समयमै परिवर्तन हुने उनको जिकिर छ।
सचिव राईले वर्तमान सरकार निर्वाचन गराउनेभन्दा पनि राजनीतिक दलहरूबीच द्वन्द्व बढाउनतर्फ उन्मुख देखिएको आरोप लगाए। यद्यपि, निर्वाचन हुने अवस्था आए आफूहरू निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको उनले बताए।
उनले संविधानलाई सही ट्रयाकमा ल्याउन संसद पुनःस्थापना, सर्वपक्षीय सरकार गठन, संविधान संशोधन र त्यसपछि मात्र निर्वाचन गर्नुपर्ने धारणा राखे।
एमालेको एघारौँ महाधिवेशनको सन्दर्भमा बोल्दै राईले नेतृत्व चयनका क्रममा दुई स्पष्ट प्यानलबीच प्रतिस्पर्धा भए पनि पार्टी एकताबद्ध रहेको दाबी गरे।
उनले पराजित भएकाहरूको सम्मान र विजयी भएकाहरूलाई सहयोग गर्ने गरी पार्टीभित्र जिम्मेवारी बाँडफाँड गरिने जानकारी दिए।














Discussion about this post