झापा : प्रतिनिधिसभा निर्वाचनको मौन अवधि लागू भएसँगै झापाको दमक र बिर्तामोड क्षेत्रमा प्रहरीले कडा निगरानी र विशेष जाँच अभियान सञ्चालन गरेको छ।
मौन अवधिमा आचारसंहिता विपरीत गतिविधि तथा ट्राफिक नियम उल्लंघन गर्नेहरूविरुद्ध कारबाही गर्दै प्रहरीले एक महिलासहित ३० जनालाई पक्राउ गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मौन अवधिमा मादक पदार्थ सेवन तथा राजनीतिक प्रचारप्रसार पूर्ण रूपमा निषेध भएकाले नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याइनेछ।
प्रहरीकाअनुसार दमकमा २४ वटा मोटरसाइकल र बिर्तामोडमा १३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
एउटै मोटरसाइकलमा तीन जना सवार, हेल्मेट प्रयोग नगरेका तथा मोडिफाइ गरिएका सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ।
निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्राथमिकतामा राख्दै झापामा सुरक्षा संयन्त्र ‘हाई अलर्ट’ मा रहेको संकेत प्रहरीले दिएको छ।
प्रहरीले आम नागरिकलाई शान्तिपूर्ण वातावरण कायम राख्न सहयोग गर्न तथा कुनै पनि शंकास्पद गतिविधि देखिए तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।














Discussion about this post