इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको कायममुकायम क्याम्पस प्रमुखमा सञ्जीव यादव नियुक्त भएका छन् ।
क्याम्पस सञ्चालक समितिको बैठकले सहप्राध्यापक यादवलाई कायममुकायम क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
दुई वर्ष सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेर कायममुकायम क्याम्पस प्रमुख भएका यादवले संस्थाको उन्नति र हितलाई ध्यानमा राखेर साँझ ढंगले काम गर्ने प्रतिबद्दता व्यक्त गरे ।
सोमबार प्राध्यापक तथा कर्मचारीहरूले सम्मान गरेपछि आफ्नो संक्षिप्त प्रतिक्रिया दिदैँ सहायक क्याम्पस प्रमुख हुँदा पनि आफूले निरन्तर संस्थाको श्रीवृद्दिमा लागेको र अब आफ्नै नेतृत्वमा सम्पूर्ण जिम्मेवारी आएसँगै थप सक्रियतापूर्वक लाग्ने बताए ।
‘मैले मेरो ठाउँबाट गर्ने सवै प्रकारका कामहरू कतै कुनै कन्जुस्याइँ नगरिकन बिनाभेदभाव, बिनापक्षपात गर्नेछु,’ उनले भने ।
सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. ४ स्थायी घर भएका यादव हाल इटहरी वडा नं. ८ मा बसोबास गर्दै आएका छन् ।
उनले स्वास्थ्य तथा शारीरिक शिक्षामा एमएड तथा ग्रामीण विकासमा एमए गरेका छन् । यादवले २०६४ सालमा स्वास्थ्य तथा शारीरिक शिक्षा विभागमा पूर्णकालीन रूपमा क्याम्पस प्रवेश गरेका थिए ।
उनले २०६४ सालदेखि २०८१ सालसम्म स्वास्थ्य तथा शारीरिक शिक्षा विभागको विभागीय प्रमुखको रुपमा भूमिका निर्वाह गरेका थिए ।
त्यसपछि उनले सहायक क्याम्पस प्रमुख भएर काम गरेका थिए ।
विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।
कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ ।












Discussion about this post