धेरै राम्रो काम र पैसा पाइने भनि प्रलोभनमा पारेर मोरङका ३ जना युवतीलाई भारत लैजान लागेका ४ जना व्यक्तिहरु सुनसरीको इनरुवाबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने ४ जनामध्ये २ जना भारतीय नागरिक रहेका छन् । प्रहरीले इनरुवा नगरपालिका ८ का २८ बर्षीय सचिन मेहता र विराटनगर १७ का २४ बर्षीय बरुणकुमार मण्डललाई पक्राउ गरेको हो भने भारतको विहार राज्यको अररिया जिल्ला चहटपुर ग्राम पञ्चायत ७ का ३७ बर्षीय दिलिप साह र ३५ बर्षीय दिलिप यादव रहेका छन् ।
उनीहरुले भारतमा महिनाको ६० हजार भन्दा बढि पैसा हुने राम्रो काम पाइन्छ भन्ने आश्वासन देखाएर बेलबारीका २ जना र विराटनगर १७ का १ जना युवतीलाई भारत लैजान लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तीन जना युवतीहरुलाई सोमबार इनरुवा टेम्पो स्टेशनमा बोलाएका थिए । उनीहरु एक रात मिनि हाई वे होटलमा बास बसेको भोलीपल्ट मंगलबार भारत जान गाडीमा विराटनगरतर्फ जादै गरेका थिए ।
सोही क्रममा गढी गाउँपालिकाको औरावनीको भ्रमरी चोकमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शंकास्पद देखिए पछि आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।
अनुसन्धान पश्चात युवतीहरु ओसारपसारमा संलग्न देखिए पछि चारै जनालाई मुलुकी अपराध संहिता २०७४ वमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post